आज मार्गशीर्ष पूर्णिमा, सनातन धर्ममा पूर्णिमाको विशेष महत्त्व छ। यो महिना भगवान् विष्णुको प्रिय महिना भएकाले यस महिनामा भगवान विष्णु मानिसको धार्मिक कार्यबाट निकै प्रसन्न हुने जनविश्वास रहेको छ । यस दिन भगवान विष्णु, लक्ष्मी र श्रीकृष्णको पनि पूजा गरिन्छ । मार्गशीर्ष पूर्णिमाको व्रत गर्नाले हरेक मनोकामना पूरा हुने धार्मिक मान्यता रहेको छ।
यस वर्ष मार्गशीर्ष पूर्णिमाको दिन विशेष संयोग बनिरहेको छ । यस दिनमा सर्वार्थ सिद्धि, रवि र सिद्धयोग गरी तीनवटा शुभ योग रहेका छन् जसमा स्नान, दान, जप र तपस्या पुण्यकारी मानिन्छ । पूर्णिमाको व्रत बसेर सत्यनारायणको कथा वाचन गर्नाले देवी लक्ष्मी प्रसन्न हुने जनविश्वास छ । मार्गशीर्ष पूर्णिमामा त्रिदेव (ब्रह्मा, विष्णु, महेश) को अंश भगवान दत्तात्रेयको जन्म जयन्ती पनि मनाइन्छ र यस दिन भगवान दत्तात्रेयको पूजा गर्दा ब्रह्मा, विष्णु र महेशको पूजा गर्ने शुभ फल प्राप्त हुन्छ।
हिन्दु पञ्चाङका अनुसार यस पटकको मार्गशीर्ष पूर्णिमा मंसिर २१ गते अर्थात् आज बिहान ८ः०१ बजे शुरु भई भोलिपल्ट अर्थात् मंसिर २२ गते बिहान ९ः३७ बजे समापन हुनेछ । उदय तिथि र पूर्णिमाको अधिकांश समय मंसिर २१ गते पर्ने भएकाले आज मार्गशीर्ष पूर्णिमा व्रत मनाइन्छ ।
आजको दिन बिहान सबेरै नुहाएर घरको पूजा कोठा-मन्दिर सरसफाइ गर्ने । मन्दिरमा भगवान विष्णु, कृष्ण र माता लक्ष्मीको चित्र वा मूर्तिमा गंगाजल छर्कनुहोस्। त्यसपछि गंगा जल र काँचो दूध मिसाएर भगवान गणेश, विष्णु, कृष्ण र माता लक्ष्मीलाई अर्पण गर्नुहोस्। त्यसपछि भगवान विष्णुलाई अबीर, चन्दन, अक्षत, फूल, मोली, तुलसीको पात अर्पण गर्नुहोस्। सत्यनारायणको कथा पढ्नुहोस् र पूजामा संलग्न सबै वृद्धहरूबाट आशीर्वाद लिनुहोस् र सबैलाई प्रसाद दिनुहोस्।