कांग्रेसलाई साथ दिन एमाले तयार, सरकारलाई समर्थन ?

काठमाडौं : सत्तारुढ गठबन्धन दर्बिलो गरी अघि बढ्ने निर्णय लिइरहेको छ। अर्कातिर, कांग्रेस र एमालेका केही उच्च नेता भने दुई दल मिल्नुपर्ने पहलमा लागेका छन्। धेरै साना दललाई समटेर जानुभन्दा दुई ठूला दल मिलेर पाँच वर्षलाई स्थिरता दिनुपर्ने उनीहरूको धारणा छ। यो समाचार अन्नपुर्णपोस्टमा प्रकाशित छ।

एमालेका नेताहरूले कांग्रेसलाई एकल सरकार बनाउनसमेत आफूहरूको सहयोग हुने प्रस्ताव राखेका छन्। एमालेका एक उच्च नेता भन्छन्, ‘कांग्रेसले पाँचै वर्षका लागि सरकार बनाओस्। हाम्रो पूर्ण समर्थन रहन्छ। हामी सरकारमा जानुभन्दा पार्टी सुदृढीकरणमा जुट्ने छौं। तर, राजनीतिक स्थिरताका लागि कांग्रेसकै सरकार उचित हुन्छ।’

सत्तारुढ गठबन्धनको बहुमत नभएको र माओवादीले बार्गेनिङ गरिरहेको कारण कांग्रेस पनि एमालेको समर्थनमा सरकार बनाउन लचक छ । देउवा र ओली निकटका नेता यो गृहकार्यमा व्यापक रूपमा लागेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीसँग कांग्रेस नेता प्रकाशमानसिंह भेटघाट पनि भइसकेको छ।

एमाले नेतृत्वले कांग्रेसलाई ५ वर्षकै लागि एकल सरकार बनाउन लिखित सहमति नै दिने प्रतिबद्धता पनि जनाएको छ। हालसम्म प्रत्यक्षतर्फ १६५ सिटको निर्वाचनको परिमाण आइसकेको छ । निर्वाचनको अन्तिम परिणामअनुसार प्रत्यक्षमा ५७ सिट जितेर कांग्रेस पहिलो दल भएको छ भने एमाले दोस्रो हुँदै ४४ सिट जितेको छ। यता समानुपातिकमा सबैभन्दा धेरै मत एमालेले ल्याएको छ। उसले ३४ सिट पाउने सम्भावना छ भने कांग्रेस समानुपातिकमा दोस्रो भएको छ।

उसले ३२ सिट पाउन सक्छ। कांग्रेसको ८९ र एमालेको ७८ सिट हुने देखिएको छ। कांग्रेस र एमाले मिल्दा १६७ हुन्छ। एमाले र कांग्रेस मिलेमा दुई दलकै स्पष्ट बहुमतसहितको सरकार बन्छ। एमाले भने सरकार नजाने तर कांग्रेसलाई बाहिर बसेर समर्थन गर्न तयार भएको छ।

एमाले महासचिव शंकर पोखरलले दुई पार्टी सिस्टमको वकालत गर्दै आएका छन्। साना दलले सधै बार्गेनिङ मात्रै गर्ने भएकाले कांग्रेस र एमाले मिल्नुपर्ने उनको मत छ। कांग्रेस र एमाले मिल्नुपर्छ भन्ने लाइनका नेताहरू यो गृहकार्य लागिरहेका छन्। गठबन्धन बैठकमा कांग्रेस इतरका दलले यो निर्वाचनमा कांग्रेसलाई फाइदा भएको र आफूलाई घाटा भएको गुनासो गरेका थिए।

चुनावको परिणामप्रति असन्टुष्टि जनाउँदै कांग्रेसइतरका गठबन्धनका दल मोर्चा बनाए दबाब दिन लागेका छन्। यसको नेतृत्व माअ‍ोवादी अध्यक्ष पुष्पकमल दाहालले गरिरहेका छन्। माओवादी केन्द्रले बैठक बसेर विकल्पमा जान सक्ने बताएपछि कांग्रेसले पनि भित्रीरूपमा एमालेसँग सरकार बनाउने गृहकार्य अगाडि बढाएको छ। एमाले उपाध्यक्ष युवराज ज्ञवालीले कांग्रेस र एमालेबीच छलफल भइरहेको बताए।

प्रकाशित : मङ्गलबार, मङि्सर २०, २०७९०८:२९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सत्ता गठबन्धनमा ‘पावर सेयरिङ’को खाका बनाइने