वर्षमान पुन चीन जाँदै, सँगै जाने भए श्रीमती र छोरी पनि !

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन फलोअप उपचारका लागि आज चीन जाने भएका छन् । नेता पुनलाई वंशाणुगतरूपमा रहेको पुरानो रोग जण्डिसले फेरि सताएपछि यसअघि उपचार गरिएको चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पताल जान लागेका हुन् । यसअघि २०७८ साल मङ्सिरमा पनि उनको सोही अस्पतालमा एक महिना उपचार भएको थियो ।

चीन–नेपाल नियमित उडान नभएकाले पूर्वअर्थ तथा ऊर्जामन्त्रीसमेत रहेका उपमहासचिव पुन आज साँझ ७ बजे इमिरेट्सको उडानबाट दुबई, ग्वाञ्झाओ हुँदै सेनजेन जान लागेको उनको सचिवालयले जानकारी दिएको छ ।

गत वर्ष चीनमा उपचार गरेर फर्कंदा जण्डिसको मात्रा (बिलरुविन) नौ रहेकामा अहिले बढेर ३५ पुगेको छ । नेता पुनसँगै उपचारका लागि पूर्वसभामुख तथा पत्नी ओनसरी घर्ती र छोरी शीला आज चीनको सेनजेन जान लागेका हुन् ।

काठमाडौँमा रगत, ब्लड प्रेसर, मुटुको चाल, बिलरुविनको मात्रा परीक्षण गरेर थर्ड पिपुल्स अस्पतालका चिकित्सकसँग नियमित सम्पर्कमा रहेका पुनलाई चिकित्सकले फलोअपमा अस्पताल नै आउन सल्लाह दिएपछि आज चीन जान लागेको बताइएको छ ।

चीन जानुअघि उपमहासचिव पुनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री शेरबहादुर देउवासँगसमेत परामर्श गरिसकेका छन् । पछिल्लो समय उनी काठमाडौँमा बसी आराम गरिरहेका छन् ।

प्रकाशित : शुक्रबार, मङि्सर १६, २०७९१३:१२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

केही समयमा मेष राशिमा जाँदै गुरु, यो एक राशिमा हुनेछ असीम कृपा !