ओलीलाई प्रधानमन्त्री बनाउने कसरत  सुरु !

काठमाडौँ – सत्ता गठबन्धनमा आबद्ध दलहरूले नयाँ सरकार गठनको तयारी गरिरहँदा नेकपा एमालेले पनि आफ्नो तर्फबाट पहल थालेको छ। प्रत्यक्ष तथा समानुपातिकको मतगणना अन्तिम चरणमा आइपुग्दा एमालेले पनि आफ्नो सिट आकलन गर्दै सरकार गठनको कसरत थालेको हो। एमालेले प्रत्यक्षतर्फ ४४ सिट र समानुपातिकतर्फ ३५ देखि ३६ सिट प्राप्त भए आफ्नो नेतृत्वमा सरकार बनाउन प्रयास थाल्ने सो पार्टीका नेताहरूले जनाएका छन्। यो समाचार नागरिक दैनिकमा प्रकाशित छ।

एमालेले नेकपा एकीकृत समाजवादी (नेकपा एस) बाहेकका पार्टीलाई मिलाएर सरकार बनाउने सम्भावना रहेको बताइएको छ। आफूहरूको नेतृत्व स्वीकार गरेर माओवादी केन्द्र आउन चाहे ढोका खुला राखेर छलफल थाल्ने पनि एमाले नेताहरूले बताएका छन्। उनीहरूले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबारे भने केही बताएका छैनन्।

एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टी अध्यक्ष केपी शर्मा ओेलीको नेतृत्वमा सरकार बनाउन अधिकतम पहल गर्ने बताइसकेका छन्। उनले मंसिर ४ मा सम्पन्न निर्वाचनबाट कुनै पनि दलको बहुमत नआएकाले बहुमत पुर्‍याएर अध्यक्ष ओलीलाई प्रधानमन्त्री बनाउन लागिपर्ने स्पष्ट संकेत गरेका हुन्। प्रतिनिधिसभा सदस्यमा रूपन्देही २ बाट निर्वाचित पौडेलले सोमबार बिहान प्रेस चौतारी नेपालद्वारा बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै निर्वाचनका अजेन्डा कार्यान्वयन र राष्ट्रहितका लागि सबै हिसाबले एमालेको बहुमत आउनुपर्ने भए पनि त्यसो हुन नसकेको बताए। तर बहुमत नआए पनि एमाले अध्यक्ष ओेलीको नेतृत्वमा सरकार बनाउने प्रयास भने गर्ने उनको भनाइ थियो। माओवादी केन्द्रसहित जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनमत पार्टी र केही स्वतन्त्र सांसदहरूलाई समेटेर सरकार बनाउने संकेत गरेका थिए।

सोमबार उपाध्यक्ष पौडेलले कसरी सरकार बनाउने भन्नेबारे केही कुरा नबताए पनि एमालेले अहिलेको सत्ता गठबन्धन भत्काएर पार्टी अध्यक्ष ओलीको नेतृत्वमा सरकार बनाउन सक्ने सम्भावना व्यक्त गरेका हुन्। एमाले उपाध्यक्ष पौडेलले चुनावका बेला प्रतिस्पर्धामा उत्रिएकै दलहरूसँग एमालेको सहकार्य हुन सक्ने बताए। ‘राजनीतिक स्थायित्व, विकास र समृद्धिको अजेन्डा लिएर एमाले चुनावमा गएको हो। अजेन्डाका हिसाबले एमालेले बहुमत पाउनुपर्ने हो तर त्यो सम्भव भएन। हामी जनादेशको सम्मान गर्छौं। बहुमत नआए पनि एमाले निष्क्रिय भएर बस्दैन, सशक्त भूमिका खेल्छ,’ उपाध्यक्ष पौडेलले भने, ‘एमालेले नेतृत्वदायी भूमिका निर्वाह नगरेसम्म देश अघि बढ्न सक्दैन, विकासले गति लिन सक्दैन। त्यसकारण प्रतिस्पर्धी दलहरूसँगको सहकार्यमै ओलीको नेतृत्वमा सरकार बनाउने पहल गर्नेछ।’

प्रकाशित : मङ्गलबार, मङि्सर १३, २०७९०८:३७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

लाभांश वितरणमा राष्ट्र बैङ्कको नयाँ नियम !