मेलम्चीको पानी एक सातामा सुन्दरीजल आइपुग्ने !

काठमाडौँ, मङ्सिर १३ गते । मेलम्ची नदीको पानी काठमाडौँ उपत्यकामा तेस्रो पटक ल्याउन मुहानबाट आयोजनाको सुरुङमा पठाइएको छ । बाढीपहिरोको जोखिम हुनसक्ने भन्दै गत असार १७ गतेदेखि सुरुङको ढोका बन्द गरिएको थियो । यो समाचार गोरखापत्रमा प्रकाशित छ।

मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित अम्बाथानमा रहेको मुहानबाट सुरुङमा पानी पठाउन सुरु गरिएको जानकारी दिनुभयो । करिब पाँच महिनापछि मुहानबाट सुरुङमा पानी पठाइएको हो । अस्थायी रूपमा मेलम्ची नदीको पानी पुनः काठमाडौँ पथान्तरण गर्न थालिएको हो । अम्बाथानदेखि सुन्दरीजलसम्म सुरुङको लम्बाइ २६ किलोमिटर छ ।

“हेडवक्र्सबाट पानी पठाउन सुरु गरिएको एक हप्ताभित्रमा अम्बाथानदेखि सुन्दरीजलसम्मको सुरुङ पूर्ण रूपमा भरिन्छ । सुरुङ भरिएपछि सुन्दरीजलबाट काठमाडौँ उपत्यकामा वितरणको लागि आयोजनाको थोक वितरण प्रणालीमा करिब १७ करोड लिटर पानी पठाइने छ”, उहाँले भन्नुभयो ।

“काठमाडौँ उपत्यकामा पानी वितरणका लागि आयोजनाको वितरण प्रणाली तयारी अवस्थामा रहेको बताउँदै प्रवक्ता पन्तले मङ्सिरभित्र मेलम्चीको पानी पुनः काठमाडौँमा वितरण गरिने जानकारी दिनुभयो । उहाँले यस वर्षको बाढीपहिरोले बगाएका सडक तथा पुल अस्थायी रूपमा निर्माण भइसकेको बताउनुभयो ।

आयोजनाका प्रवक्ता पन्तकाअनुसार बाढीपहिरोले थुपारेका ढुङ्गा र माटो पन्छाउने काम सुरु भएको छ । “मेलम्चीको हेडवक्र्ससम्म पुग्ने अस्थायी बाटो निर्माण भइसकेको छ । आयोजनाका प्रमुख तथा प्राविधिकले मुहानस्थलमा पुगेर क्षतिबारे अध्ययन गरिरहनुभएको छ”, उहाँले भन्नुभयो ।

आयोजनाको सुरुङको सफाइ तथा मर्मत कार्य सुरु भइसकेको उहाँले जानकारी दिनुभयो । मुहान स्थलमा आवश्यक मात्रामा जनशक्ति, एक्साभेटर, टिपरलगायतका उपकरण उपलब्ध गराइएको छ । यस वर्षको वर्षा सुरु भएसँगै बन्द गरिएको मेलम्चीको मुहानमा माटो र ढुङ्गा पन्छाउन अहिले छवटा एक्साभेटर र छवटा टिपर प्रयोग भएको आयोजनाले जनाएको छ । यस वर्षको बाढीपहिरोले विगत जस्तो ठूला/ठूला ढुङ्गा तथा धेरै मात्रामा बालुवा र माटो नथुपारेकाले माटो र ढुङ्गा पन्छाउन धेरै समय नलाग्ने प्रवक्ता पन्तको भनाइ छ ।

प्रकाशित : मङ्गलबार, मङि्सर १३, २०७९०७:५१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बागमती किनारका बस्ती हटाउँदा तनाव, नगरप्रहरीमाथि घरेलु हतियारसहित ढुङ्गामुढा प्रहार !