खोटाङ, खोटाङमा वाम लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रामकुमार राई र प्रदेशसभा सदस्यमा निर्वाचित भूपेन्द्र राईलाई शुभेच्छुक नेता तथा कार्यकर्ताले एउटै माला लगाइदिएका छन् ।
विजयपछि मतदातालाई धन्यवाद दिन बराहपोखरी गाउँपालिका पुगेका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य राई र प्रदेशसभा सदस्य राईलाई सोमबार शुभेच्छुक एवं कार्यकर्ताले एउटै मालाले बेरेका हुन् । शुभेच्छुकले दुईजना जनप्रतिनिधिलाई ‘जिम्मेवारीको एउटै माला लगाइदिएको’ भन्दै नचुँडाउन आग्रह गरेका छन् ।
वाम लोकतान्त्रिक गठबन्धनअन्तर्गत रामकुमार माओवादी केन्द्र र भूपेन्द्र कांग्रेसबाट निर्वाचित भएका हुन् । निर्वाचित भएलगत्तै उनीहरू १० मंसिरदेखि विजयसभा एवं धन्यवाद ज्ञापन कार्यक्रममा हिँडिरहेका छन् ।
१० मंसिरमा साकेला गाउँपालिका, ११ मंसिरमा खोटेहाङ गाउँपालिकामा विजयसभा गरेको गठबन्धनले १३ मंसिरमा हलेसी, १४ मंसिरमा ऐसेलुखर्क र १५ मंसिरमा केपिलासगढी गाउँपालिकामा कार्यक्रम तय गरेको कांग्रेस दिप्रुङ चुईचुम्मा गाउँपालिका सभापति अमृत गिरीले जानकारी दिए ।