उड्न ठिक्क परेको विमान स्टार्ट नभएपछि …

काठमाडौँ, नियमित उडानका क्रममा मुम्बई उड्न लागेको नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज ए ३२० (आरए २०१) जहाजको इन्जिन स्टार्ट नभएपछि काठमाडौँमा ग्राउन्डेड भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आइतबार बिहान साढे ११ बजे मुम्बई उड्ने तयारीमा रहेको जहाज स्टार्ट नभएपछि १५२ जना यात्रुलाई निगमको अर्को जहाजबाट मुम्बई पठाइएको छ । इन्जिन स्टार्ट गर्न आवश्यक पर्ने एपीयू (एक्जिलरी पावर युनिट)मा समस्या देखिएपछि यात्रुलाई अर्को जहाजबाट मुम्बई पठाइएको हो ।

उडान तालिकाअनुसार यात्रुहरू जहाजभित्र बसिसकेपछि जहाजमा प्राविधिक समस्या रहेको पत्ता लागेको थियो । जहाजमा आएको प्राविधिक समस्याले उडान तोकिएकै समयमा हुन नसकेपछि यात्रुलाई दिल्लीबाट आएको अर्को न्यारोबडी जहाजबाट गन्तव्यमा पठाइएको निगमका प्रवक्ता अर्चना खड्काले बताउनुभयो ।

जहाज स्टार्ट गर्ने एयर स्टार्ट युनिट (एएसयू)मा समेत समस्या देखिएपछि जहाज स्टार्ट हुन नसकेको उहाँले बताउनुभयो । निगमसँग भएको दुईवटा एएसयूमध्ये एउटा उपकरण पहिलेदेखि नै बिग्रेर थन्किएको र दोस्रोमा समेत समस्या देखिएपछि जहाज स्टार्ट हुन समय लागेको प्रवक्ता खड्काले बताउनुभयो ।

दिल्लीबाट फर्किएको निगमको न्यारोबडी अल्फा किलो एक्सरेमार्फत यात्रुलाई पठाइएको र यता ग्राउन्डेड जहाजमा भएको प्राविधिक समस्या समाधान गरेर जहाज उडानको पूर्ण तयारीको अवस्थामा आएको उहाँले बताउनुभयो । आइतबार मुम्बईबाट काठमाडौँ आउने एक सय हाराहारी यात्रु थिए ।

यता घरेलु उडान गर्दै आएका निगमका दुई जहाजमध्ये एउटा मङ्सिर २ गतेदेखि ग्राउन्डेड अवस्थामा छ । काठमाडौँबाट भोजपुर उडानका क्रममा जहाजमा प्राविधिक समस्या आएपछि उक्त जहाज काठमाडौँ फर्काएर ग्राउन्डेड गरिएको हो । हाल उक्त जहाजको प्राविधिक जाँच भइरहेको निगमले जनाएको छ ।

निगमले अन्तर्राष्ट्रियतर्फ भारतका तीनसहित आठ देशका १० गन्तव्यमा अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ । निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि दुई थान वाइडबडी ए–३३० र दुई थान न्यारोबडी ए–३२० जहाज छन् । – गोरखापत्रबाट

प्रकाशित : सोमबार, मङि्सर १२, २०७९०६:३६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

कांग्रेसमा प्रधानमन्त्री बन्न चाहनेको लर्को ! को-को ? [सूची सहित]