एजेन्सी- अजय देवगन, तब्बु र अक्षय खन्ना अभिनित फिल्म ‘दृश्यम २’ रिलिजको आज सातौँ दिन भएको छ । आजसम्ममा फिल्मले सय करोडको आँकडा पार गरेको छ । लगातार फ्लप फिल्मको बिचमा पनि शानदार ओपनिङ गरेको यो फिल्मले रिलिजको दिनदेखि नै बक्स अफिसमा उत्कृष्ट प्रदर्शन गरिरहेको छ ।
फिल्म ‘दृश्यम २’ नोभेम्बर १८, २०२२ मा रिलिज भएको थियो। फिल्मले पहिलो दिन १५.३८ करोड कमाएको थियो । चलचित्रले एक सातामा अझ राम्रो प्रदर्शन गरेको छ ।अभिषेक पाठकले निर्देशन गरेको यो फिल्म अजय देवगनको २०१५ मा आएको फिल्म दृश्यमको सिक्वेल हो। यसको पहिलो भाग पनि दर्शकले निकै रुचाएका थिए। पहिलो दिन १५.३८ करोड कमाएको फिल्मले शनिबार पनि राम्रो प्रदर्शन गर्दै २१.५९ करोड कमाएको छ । यसपछि फिल्मले आइतवार भारतमा छुट्टीको फाइदा पायो जसका कारण ‘दृश्यम २’ को कलेक्सन २७.१७ करोड पुगेको छ ।
चौथो दिन फिल्मले ११.८७ करोड कमाएको थियो भने पाँचौँ दिन फिल्मले १०.४८ करोडको व्यापार गरेको थियो । फिल्मले छैटौँ दिन ९.५५ करोडको व्यापार गरेको थियो भने सातौँ दिनमा फिल्मले ८.५० करोड कमाएको थियो । योसँगै फिल्मको कुल कलेक्सन १०४.५४ करोड पुगेको छ । धेरैले मन पराइएको यो फिल्म आशा गरेको जस्तो व्यापार गरिरहेको छ । अर्को साता यसको कलेक्शनमा अझै बढ्न सक्छ । फिल्ममा अक्षय खन्ना, श्रिया शरण र इशिता दत्त पनि मुख्य भूमिकामा छन् ।