पोखरा, म्याग्दीका तीनै सीट लोकतान्त्रिक बाम गठबन्धनले जितेको छ । प्रतिनिधि सभा सदस्यमा कांग्रेसका खमबहादुर गर्बुजा (खम्बिर) तथा प्रदेश सभामा माओवादीका रेशम जुग्जाली र हरि भण्डारी विजयी भएका हुन् ।
गर्बुजाले एमालेका हरिकृष्ण श्रेष्ठलाई ३ हजार ८ सय ३२ मत अन्तरले हराए । खम्बिरको २४ हजार २१ मत आउँदा श्रेष्ठको २० हजार १ सय ८९ मत आयो ।
प्रदेश सभा (क) मा माओवादीका भण्डारीले एमालेका देवेन्द्रबहादुर कटुवाललाई हराए । भण्डारीले १२ हजार ७ सय ४० मत ल्याउँदा कटुवालले ११ हजार ७ सय ६५ मत पाए ।
प्रदेश सभा (ख) बाट माओवादीकै जुग्जाली निर्वाचित भएका छन् । उनले एमालेका यामबहादुर जुग्जालीलाई १ सय १ मत अन्तरले हराएका हुन् । रेशमको ९ हजार ४ सय ५४ मत आउँदा यामबहादुरको ९ हजार ३ सय ५३ मत आएको छ ।
गोरखाको ६ वटै सिट गठबन्धनलाई
गोरखाका २ प्रतिनिधि सभा सदस्य र ४ प्रदेश सभा सदस्य सिट गठबन्धनले जितेको छ । प्रतिनिधि सभातर्फ गोरखा १ मा कांग्रेसका राजेन्द्र बजगाईं विजयी भए । बजगाईँले एमालेका रामशरण बस्नेतलाई १६ हजार ६ सय ४३ मत अन्तरले हराएका हुन् । बजगाईँले ३३ हजार ४ सय २८ मत पाउँदा बस्नेतले १६ हजार ७ सय ८५ मत पाए ।
गोरखा २ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विजयी भएका छन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीलाई १३ हजार ४ सय ६५ मत अन्तरले हराएका हुन् । प्रचण्डले २६ हजार १ सय १ मत ल्याए भने रास्वपाका बुर्लाकोटीले १२ हजार ६ सय ३६ मत पाए । एमालेका अब्दुस मियाँ ७ हजार ३ सय ९२ मत पाएका छन् ।
प्रदेश सभा तर्फ गोरखा १ (क) मा माओवादीका कृष्ण धिताल विजयी हुँदा एमालेका सुरेन्द्र थापा पराजित भए । प्रदेश सभा १ .(ख) मा कांग्रेसका नन्द प्रसाद न्यौपानेले एमालेका मोहन भट्टराईलाई हराए । क्षेत्र नम्बर २ (क) मा नेपाल समाजवादी पार्टीका फडिन्द्र देवकोटाले एमालेकै राजु रानालाई हराउँदा २ (ख) मा कांग्रेसका सुरेन्द्रराज पाण्डेले एमालेका बसन्त गुरुङलाई पराजित गरे ।