काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाको जित सुनिश्चित भएको छ। सोमबार देखि सुरुभएको मतगणनामा निरन्तर अग्रता लिँदै आएका थापाको जित सुनिश्चित भएको हो। थापालाई निकटतम प्रतिद्वन्दीले भेट्टाउने सम्भावना सकिएको छ।
जम्मा एउटा वडाको मात्रै मतगणना बाँकी रहँदा गगन थापाले १९ हजार १४ मत प्राप्त गरेका छन्। उनलाई नेकपा एमालेका राजन भट्टराईले १३ हजार २३ मत सहित पछ्याइरहेका छन्। थापा र भट्टराई बीच ५ हजार ९ सय ९१ मतको अन्तर रहेको छ।
अब काठमडौं महानगरपालिका ३० नम्बर वडाको मात्रै मत गणना गर्न बाँकी रहेको छ। सो क्षेत्रमा जम्मा ४ हजार ८ सय ८१ मत खसेको छ। साथै सो वडा नेपाली कांग्रेसको पकड क्षेत्र पनि हो।
यस्तै मत गणना गर्न बाँकि रहेको मत भन्दा थापाको अग्रता बढी रहेको छ। यससँगै सो क्षेत्रबाट थापा विजयी हुने पक्का भएको छ। थापाले नेकपा एमालेको पकड भएको क्षेत्रमा समेत राम्रो मत ल्याउन सफल भएका छन्।