जसलाई चुनाव के हो थाहा नै छैन …

मकवानपुर (कैलाश) : हावा र पानी सहजै भित्र छिर्ने सानो झुपडी। निहुरिएर हिँड्नुपर्ने साँघुरो झुपडीभित्र दुई छोराछोरीसहित बिन्दुमाया चेपाङ साँझको छाक कसरी टार्ने भन्ने चिन्तामा छिन्। यो समाचार अन्नपुर्ण दैनिकमा प्रकाशित छ।

चुल्हो बाल्न मजदुरी गर्न गएका बुवा राजकुमार चेपाङको प्रतीक्षामा डेढ वर्षीय छोरा सोमलाल र पाँच वर्षीया छोरी अनिताको आँखा रसाइरहेको छ। तर, भोकाएका छोराछोरीको पेट भर्ने बिन्दुमायासँग कुनै उपाय छैन। मकवानपुरको पश्चिम कैलाश गाउँपालिका २ घरेडी गाउँमा उनी तेस्रो सन्तानलाई जन्म दिने तयारीमा छिन्। उमेरले खर्भरै २४ टेकेकी बिन्दुमाया झट्ट हेर्दा ४० कटेकी जस्तै देखिन्छन्।

जंगल छेउ एकान्तको बसाइँ र कठोर जीवन संघर्ष भोगिरहेकी बिन्दुमायाले घरेडी गाउँभन्दा बाहिरको संसार देखेकी छैनन्। उनले मुस्किलले यो वर्षात् कटाइन्। ठूलो पानी पर्दा घरभित्र सहजै पानी छिर्ने गरेको छ। ‘पानी पर्दा घरभित्रै पानी छिर्छ, ठूलो पानी पर्दा प्लास्टिक ओडेर बस्छौं,’ उनले भनिन्, ‘राम्रो घर नहुँदा बालबच्चा जोगाउनै गाह्रो भयो।’

जाडो महिना बढ्दै जाँदा उनलाई बिहान बेलुकीको छाक टार्नेसँगै रात कसरी कटाउने भन्ने चिन्ताले सताएको छ। वर्षौं पुरानो कपडाले चारैतिर खुला रहेको झुपडीमा चल्ने चिसो सिरेटो थेक्दैन। यही चिसोले तीन वर्ष अघि उनको एक सन्तान खोसेर लग्यो। राम्ररी नेपाली भाषा नबुझ्ने बिन्दुमायाले भनिन्, ‘चिसो बढेपछि राती सुत्न सकिँदैन, आगो तापेर रात कटाउँछौं।’ छोराछोरीका लागि पनि उनले तीन वर्षयता नयाँ कपडा किनिदिन सकेकी छैनन्। गाउँलेका छोराछोरीले लगाएर दिएका पुराना कपडाहरूले छोरा छोरीको आत ढाकिदिने गरेकी छन्। मंगलबार अन्नपूर्णकर्मी उनको घर पुग्दा चिसो छल्न घाम तापिरहेकी थिइन्।

एलानी जमिनमा बसोबास गर्दै आएका उनको परिवारले करिब पाँच रोपनी पाखोबारीमा कोदो रोपेको छ। तर, बाँदरबाट जोगाउन मुस्किल छ। आफू सुत्केरी हुँदा खानका लागि भनेर उनले करिब डेढ सय घोगा मकै बचाएर राखेकी छिन्। ‘अन्न सकिसक्यो, मकै, कोदो रोपे पनि बाँदरले खाएर सकाइदिन्छ,’ उनले दुखेसो पोखिन्, ‘तीन महिना जति बारीको कोदो मकैले पुग्छ अरू समय मजदुरी गरेर खाने हो।’

श्रीमान्ले कमाएर नल्याएको दिन परिवार भोकै हुने गरेको छ। श्रीमान्ले ज्याला मजदुरी गरेर कमाएको पैसा पनि बाटैमा जाँडरक्सी खाएर सकाउँदा उनलाई असैह्य पीडा हुन्छ। उनी आफैं बालबच्चा छिमेकमा छाडेर कहिलेकाहीँ मजदुरी गर्न जान्छिन्। ‘घर पनि छैन, खानेकुरा पनि छैन’, उनले दुखेसो पोखिन्, ‘यस्तै बानी परिसक्यो, हुँदा खाने, नभए के गर्नु।’ राजकुमारको उनी कान्छी श्रीमाती हुन्। जेठी श्रीमतीबाट उनकी दुई छोरी छन्।

छरछिमेकको जस्तै घामपानी र चिसोबाट बच्ने घर बनाउने बिन्दुमायाको सपना छ। तर, उनको मीठो सपना पूरा हुन सकेको छैन। ‘श्रीमान्को कमाइले खान पनि मुस्किल छ,’ उनले भनिन्, ‘घर बनाउन अन्य आम्दानी छैन।’ उनका छिमेकी बाबु चेपाङले अन्य सहयोग जुटे गाउँलेले काठपात सहयोग गर्ने बताए। ‘हामी पनि उस्तै छौं, घर नै बनाइदिन त सक्दैनौं, अन्य केही सहयोग भए हामी गाउँलेले काठपात सहयोग गर्ने सोच बनाएका छौं।’

प्रकाशित : शुक्रबार, मङि्सर ०२, २०७९०८:११

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भेलुबाजेलाई २ हजार दिएर सूर्य थापाले फकाएपछि …