चुनावको मुखमा युवा लागे कालापहाड, घर बस्ने त्रिपालमुनि चिसो हिँउद बिताउन बाध्य !

जुम्ला । कर्णालीका पीडा र बाध्यताका कथा लामा छन् । मुलुकमा नयाँ संविधान बनेपछि दोस्रोपटक निर्वाचन हुँदै गर्दा कर्णालीका युवा भने परिवारका खातिर कालापहाड पुगिसकेका छन् । यो समाचार राजधानी दैनिकमा प्रकाशित छ।

दर्जनौं गाउँ विस्तापित छन् । युवा कालापहाड लागे । घर बस्नेलाई ‘चिसो हिँउद त्रिपालमुनि कसरी बिताउने ?’ भन्ने पिरलो छ । दिगो व्यवस्थापनमा जोड दिने उम्मेदवार खाँचो परेको बाढीपीडित धन भेरिकार बताउछन् ।

‘चुनावका बेला मिठामिठा कुरा गर्छन्, साँच्चै हो कि ? भन्ने लागेर उत्साह जाग्छ तर जितिसकेपछि पाँच वर्षसम्म गाउँमा पाइला टेक्दैनन्,’ बाढीपीडित धन भेरिकार गुनासो पोख्छन्, ‘हामी दुःखीलाई चुनाव आउँदा हसाउँछ, जाँदा रुवाउन्छ ।’

‘स्वरोजगार’का आश्वासन पटकपटक पाए तर रोजगारीका लागि भारतकै मुख ताक्नुपर्ने बाध्यता कहिल्यै हटेन । ‘उम्मेदवार गाउँबस्ती पुगेर स्वदेशमै रोजगारी दिने बाचा गर्दै छन्, छोरो भर्खरै कालापहाड हानियो,’ जुम्ला सिंजा क्षेत्रका स्थानीय वीरबहादुर रोकाया सुनाउँछन् ।

हरेक वर्ष हिउँदका समय जुम्लाका प्रायः युवा कमाइ गर्न कालापहाड पुग्छन् । दसैं–तिहारपछि भारतको हिमाञ्चल, गढवाल, सिम्ला, चमोलीलगायत क्षेत्रमा पुगेका उनीहरू चैत–वैशाखमा घर फर्कन्छन् ।

परम्परागत खेतीपातीले ६ महिना मात्रै खान पुग्छ । लत्ताकपडा, औषधोपचार र नुनतेलका लागि खर्च जुटाउन कालापहाड पुग्नैपर्ने बाध्यता छ । ‘हामीलाई हरेक वर्ष ठगिँदै, लुटिँदै, अपमानित हुँदै घर–परदेश नगरी हुँदैन,’ तातोपानी गाउँपालिका–७ सर्मीका जानकारी कुँवर गुनासो पोख्छन्, ‘विगतमा स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने बाचा गरेका उम्मेदवारले निर्वाचित भइसकेपछि आ–आफ्नो दुनो सोझ्याए, आसेपासे र कार्यकर्तालाई भरणपोषण गरे ।’

अर्का युवा मिम कठायत प्रश्न गर्छन्, ‘कोही अवसर र लाभैलाभको पोखरीमा नुहाउने अनि कसैले कालापहाडमा पसिना बगाउनुपर्ने, के हाम्रो अधिकार छैन ?’

मंसिर सकिएपछि त गाउँघर सुनसानै हुन्छ । चिसो हिउँदमा बालबालिका, महिला र ज्येष्ठ नागरिक मात्रै भेटिन्छन् । दशक अघिसम्म कर्णालीका राजनीतिज्ञले ‘आफूलाई नुन–चामलको राजनीति’बाट कहिल्यै माथि उठाएनन् । नुन–चामल दुरुपयोगमा टेकेर राजनीति हुने गथ्र्यो । चेतना जागरणले मूर्तरूप लिन थालेपछि दलका एजेन्डा त फेरिएका छन् । तर, व्यवहार पुरानै छ ।

प्रकाशित : आइतबार, कार्तिक २७, २०७९०९:२६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

मरेको चितुवामा धामी जागेपछि …