काठमाडौं । नेकपा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको ‘प्रमुख राजनीतिक सल्लाहकार भएका बेला अरू पार्टीको विरोधका बाबजुद आफूहरूले वृद्धा भत्ता सुरु गरेको’ स्मरण गरेका छन् । यो समाचार राजधानी दैनिकमा प्रकाशित छ।
काठमाडौं धापासीमा बुधबार ज्येष्ठ नागरिकसँगको चुनावी छलफलमा पोखरेलले ‘तत्कालीन समय विभिन्न दलका कैयौं विरोध र अवरोध सामना गर्दै एमालेले वृद्धवृद्धालाई भत्ता दिन सुरु गरेको’ उल्लेख गरे । ज्येष्ठ नागरिकको हकहितका लागि आवाज उठाउने पहिलो पार्टी एमाले भएको उनको दाबी छ ।
‘अन्य दलका कैयौं विरोध र अवरोध छल्दै ज्येष्ठ नागरिकलाई सम्मानपूर्वक बाँच्न सक्ने बनाउनु सरकारको दायित्व हो भनेर हामीले सय रुपैयाँ भत्ता दिन सुरु गरेका थियौं,’ २०५१ सालतिर फर्किंदै पोखरेलले भने, ‘त्यतिबेला कांग्रेसलगायत पार्टीले भत्ता दिँदा राज्यको ढुकुटी रित्तिन्छ भन्दै घोर विरोध गरे । तर, ज्येष्ठ नागरिकको सम्मान गर्ने एमालेको स्वच्छ उद्देश्य अनेक विरोध सहेर पनि स्थापित गरिएको छ । ज्येष्ठ नागरिक आज समाजमा सम्मान र इज्जतसाथ बाँचिरहनुभएको छ ।’
केपी ओली नेतृत्वको सरकारले भत्ता बढाएर ५ हजार रुपैयाँ पु-याउने योजना बनाए पनि बीचमै सरकारबाट हट्नुपरेकाले योजना पूरा गर्न नपाएको पोखरेलको भनाइ छ । आगामी ४ मंसिरपछि बन्ने एमाले सरकारले वृद्धभत्ता मासिक ५ हजार पु-याउने उनको प्रतिबद्धता छ ।
‘ज्येष्ठ नागरिकलाई बोझको दृष्टिले हेर्ने गरेकोमा एमालेले उनीहरूलाई सम्मान दिनुपर्छ,’ भनेर समाजमा चेतना फैलाउने काम गरेको पोखरेलको कथन छ । उनी २०५१ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको प्रमुख राजनीतिक सल्लाहकार थिए ।
आसन्न निर्वाचनका लागि एमालेद्वारा जारी घोषणापत्रमा ‘ज्येष्ठ नागरिकको हकहितका लागि धेरै एजेन्डा समेटिएकाले एमालेले आगामी निर्वाचन जित्नुपर्ने’ पोखरेलले बताए ।