एजेन्सी- खेलाडी कुमार अर्थात् अक्षय कुमारका लागि सन् २०२२ राम्रो रहेन । यो वर्ष अभिनेताका पाँच फिल्म रिलिज भएका छन् । यसमध्ये चार चलचित्र चलचित्र हलबाट रिलिज भएको थियो भने एउटा चलचित्र ओटीटीमा लागेको थियो । अभिनेताका चारवटै चलचित्र बक्स अफिसमा फ्लप साबित भएका छन् । जसका कारण निर्मातालाई ४५० करोडभन्दा बढीको नोक्सान भएको थियो तर यतिका बाबजुद अक्षय कुमार पटक्कै हरेस भएका खाएका छैनन् र अब उनी केही नयाँ गर्न लागेका छन् ।
अभिनेताले आफ्नो सामाजिक सञ्जाल खातामा भिडियो सार्वजनिक गर्दै आफ्नो नयाँ योजना खुलाएका छन् । अभिनेताले क्याप्सनमा लेखेका छन्, ‘केही नयाँ गर्ने मजा नै अर्कै छ, थप जानकारी छिट्टै पाउनु हुनेछ…’ भिडियोमा अभिनेताले ‘म केही नयाँ गर्न लागेको छु, निकै मिहिनेत गरेको छु र म यो लामो समय देखि लागी गर्दैछु ।’
अक्षय कुमारको यो भिडियो हेरेपछि उनका फ्यानहरु निकै उत्साहित भएका छन् । अभिनेताको पोष्टमा कमेन्ट गर्दै एक फ्यानले लेखेका छन्, ‘सर, तपाई महान हुनुहुन्छ, तपाईले जे गर्नुहुन्छ त्यो उत्कृष्ट हुनेछ ।’ त्यस्तै एक प्रयोगकर्ताले प्रश्न गर्दै लेखेका छन्, ‘सर, ‘हेराफेरी’ कहिले घोषणा गर्नुहुन्छ ?
बलिउड अभिनेता अक्षय कुमार आफ्ना तीन सुपरहिट फिल्म ‘हेरा फेरी’, ‘आवारा पागल दीवाना’ र ‘वेलकम’ को रिमेकमा काम गर्ने योजनामा छन् । तर यसबारेमा अहिलेसम्म आधिकारिक जानकारी आएको छैन । अर्कोतर्फ अक्षय चाँडै ‘ओएमजी २’, ‘सेल्फी’, ‘बडे मियाँ छोटे मियाँ’, ‘गोरखा’, ‘राउडी राठौर २’ जस्ता फिल्ममा देखिनेछन् ।