तासमा मात्रै नेपालीले सिध्याए ३ करोड ५९ लाख रुपैयाँ !

काठमाडौं । सरकारले विदेशी विनिमयको सञ्चिति घट्दै गएको भन्दै विलासिताका वस्तु आयातमा प्रतिबन्ध लगाएको एक वर्ष पुग्न लाग्दा पनि अझै तासलगायतका विलासिताका वस्तुको आयात रोकिएको छैन । यो समाचार राजधानी दैनिकमा प्रकाशित छ।

स्वदेशी उत्पादनको प्रवद्र्धन गरी निर्यात बढाउने लक्ष्य लिएको सरकारले विलासिताका वस्तुको आयात नियन्त्रणका लागि प्रतिबन्धलगायत अनेकौं प्रयास गरे पनि प्रभावहीन देखिएको छ । विलासिताका वस्तुहरूको आयात घट्नुको साटो थप बढेको भन्सार विभागले जनाएको छ ।

विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०७९÷८० को गत तीन महिनाको अवधि गत असोज मसान्तसम्ममा ३ करोड ५९ लाख रुपैयाँभन्दा बढीको तास आयात भएको छ ।

यस्तो, आयातको उकालो ग्राफले मुलुकको अर्थतन्त्रमा वैदेशिक व्यापारले नकारात्मक असर पारेसँगै सरकारले अत्यावश्यक वस्तुबाहेकको आयातमा कडाइकासाथ अंकुश लगाएर धेरै प्रयास गरे पनि तास लगायत विभिन्न विलासिताका वस्तुहरूको आयात नरोकिएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।

भन्सार विभागले मात्र नभएर हाल निर्यातका तुलनामा आयात कमजोर हुँदा मुलुकको वैदेशिक मुद्राको सञ्चिति घट्दै गएको विवरण नेपाल राष्ट्र बैंकले सार्वजनिक गर्दै आएको छ । मुलुकभित्रै उत्पादन गर्न सकिने कृषिउपज र अन्य उपभोग्य वस्तुदेखि नभए पनि हुने र विदेशबाट आयात गर्नु नै नपर्ने यस्ता मनोरञ्जनको साधन तासजस्ता खेल मनोरन्जनको वस्तु पनि निर्वाध रूपमा देशभित्र भित्रिइरहेका छन् ।

सरकारले तास जुवा खेल्ने र खेलाउने कार्यलाई कानुनविपरीतको दण्डनीय कार्य भनेको छ । यस्तो अवैध कार्यमा संलग्नलाई जुवातास खेल नियन्त्रण ऐनअनुसार कडा कारबाहीसमेत हुँदै आएको छ ।

हरेक वर्ष यसरी नै अनावश्यक फजुल खर्च एवं दण्डनीय कार्य मानिने तासका बुकलगायतका विलासिताका वस्तुको आयातमा बाहिरिने यति ठूलो परिमाणको रकमले मुलुकको विदेशी मुद्रा सञ्चितिमा निकै असर पारेको विभागको तथ्यांकले प्रस्ट्याएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार चालू आर्थिक वर्षको समीक्षा अवधिमा यस्ता सामानको आयातमा धेरै रकम बाहिरिएको देखिएको हो । विभागका अनुसार चालू आवको असोज मसान्तसम्म नेपालमा विभिन्न मुलुकबाट आयात भएको तासको भुक्तानीका लागि मात्र ३ करोड ५९ लाख १० हजार रुपैयाँ बाहिरिएको छ ।

सो अवधिमा कुल १६ लाख ९६ हजार २ सय १२ थान तास आयातबाट सरकारले २ करोड २३ लाख ५६ हजार रुपैयाँ राजस्वसमेत संकलन गरेको छ । यस अवधिमा भारतबाट मात्रै ३ करोड २५ लाख ५९ हजार रुपैयाँमा कुल १६ लाख ५६ हजार ३० थान तास आयात भएको छ ।

प्रकाशित : सोमबार, कार्तिक २१, २०७९०८:३३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

कालापानी-लिम्पियाधुरालाई लिएर देउवाको बोलि एउटा, काम अर्को !