केहि होला र यो भन्दा ठूली विडम्बना ? सागका स्वर्ण, निर्वाचनमा म्यादी !

महेन्द्रनगर – खेलकुद क्षेत्रमा पछिल्लो समय उदयीमान खेलाडीका रुपमा आफूलाई स्थापित गरेकी कुस्ती खेलाडी सङ्गीता धामी आसन्न मङ्सिर ४ गते हुने निर्वाचन सुरक्षामा खटिन म्यादी प्रहरीमा भर्ना भएकी छिन्।

पारिवारिक आर्थिक अवस्था नाजुक हुँदा आफू म्यादी प्रहरीमा भर्ना भएको धामीको भनाइ छ। हालै सम्पन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्णपदक विजेता धामी १३औँ दक्षिण एशियाली खेलुकद प्रतियोगिता (साग) मा पहिलो पटक स्वर्ण जित्ने नेपाली महिला खेलाडी हुन्।

‘हामीले खेलकुदका माध्यमबाट देश चिनाएर आफ्नो कर्तव्य पूरा गर्‍यौ’, हाल जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा म्यादी प्रहरीमा कार्यरत धामीले भने, ‘तर राज्यले इतिहास रच्ने खेलाडीको रोजगारीको ग्यारेन्टी नगर्दा खेलाडी हुँ भन्न पनि गाह्रो मान्नुपर्ने अवस्था आयो।’

दार्चुलाको शैल्यशिखर नगरपालिका स्थायी घर भएकी धामी कञ्चनपुरको भीमदत्त नगरपालिका–३ तिलकपुर ठूलोबुवाको घरमा बस्दै आएकी छिन्। बाल्यावस्थामै बुवा अर्कै श्रीमती लिएर घरबाट निस्केपछि आमा धनादेवीको सहारामा यहाँसम्म आइपुगेकी धामीको अझै पारिवारिक अवस्था दयनीय छ।

‘आमाले भैँसीपालन गरेर दूध बेचेर हामीलाई यहाँसम्म पुर्‍याउनुभयो’, उनले भने, ‘अहिले कहिलेकाहीँ म पनि दूध बेच्न महेन्द्रनगर बजार आउँछु।’ धामी म्यादी प्रहरीमा भर्नासँगै यही बीचमा नवौँमा स्वर्ण जितेर आईन।

सागका स्वर्ण जित्दा सरकार र विभिन्न नगरपालिकाबाट पाएको रकमले घर खर्च चलेको उनको भनाइ छ। ‘सानैमा बुवाले आमालाई छाडेर जाँदा उहाँले लगाउने खाने रहर अधुरै रह्यो’, धामीले भने, ‘म्यादी प्रहरीबाट आएको रकमले आमालाई थोरै भए पनि सुन किनेर रहर पूरा गर्ने योजना छ।’

सङ्गीताकी बहिनी रीता प्रवीणता प्रमाणपत्र तह र सङ्गीता स्नातक तहमा अध्ययनरत छिन्। ‘दुवैको खर्च पनि मेरै खेलकुदबाट आएको रकमले चलेको थियो’, उनले भने, ‘;अहिले स्वर्ण जितेर आउँदा रातो टीकासम्म लगाएर हौसला दिनुभएन।’

खेलकुद र पढाइलाई निरन्तरता दिनुभएकी सङ्गीताले नेपाली सेना र प्रहरीमा जागिर खाने धोको पूरा नहुनेमा चिन्ता रहेको दुखेसो पोखे। ‘अन्तर्राष्ट्रियस्तरमा पदक मुलुकलाई दिलाउँदा कतै जागिर पाइन्छ कि भन्ने आशा थियो’, उनले भने, ‘अहिले पनि यति ठूलोे खेलाडी म्यादीमा हुँदा समाजले कति कुरा काट्छन कि भनेर चिन्ता हुन्छ।’

खेलाडी भएर मुलुकको इज्जत बढाउने स्तरका प्रतिभावान खेलाडीलाई राज्यले रोजगारीका विषयमा सोच्नुपर्ने उनको भनाइ छ। ]पदक दिलाउने खेलाडीलाई पालिकास्तरसम्म भए पनि जागिरको व्यवस्था गर्नुपर्छ’, उनले भने, ‘शरीरमा ताकत हुँदा खेलेपनि पछि गएर जिविका चलाउन बाहिरिनुपर्ने बाध्यता भयो।’

उनले अन्य मुलुकमा अन्तर्राष्ट्रियस्तरमा पदक ल्याउने खेलाडीलाई सम्मान र रोजगारीको कुनै कमी नहुने गरेको बताए। ‘अहिले म्यादीमा भर्ना भएर राज्यले गरिरहेको चुनावमा सुरक्षा प्रदान गर्ने जिम्मेवारी पाउँदा हर्षित नै छु’, उनले भने, ‘स्थायी रोजगारी पाउने आशैआशमा निराशा छाएको छ।’

सङ्गीतासँगै कुस्तीकी नवौँ राष्ट्रिय प्रतियोगितामा अर्की स्वर्णपदक विजेता खेलाडी हेमा भट्टलगायत पाँच / छ जना राष्ट्रिय खेलाडी अहिले कञ्चनपुरमा म्यादीमा भर्ना भएका छन्। कञ्चनपुरका कुस्ती प्रशिक्षक राजेन्द्र चन्दले खेलाडीलाई राज्यले सुविधा दिने विषयमा सोच्नुपर्ने बेला आएको बताए।

‘सागको स्वर्ण जित्ने चेलीले आज जागरिका लागि भौतारिनुपर्ने बाध्यता आउनु राम्रो कुरो होइन’, उनले भने, ‘अब पालिकामा पदक विजेता खेलाडीलाई रोजगारीको व्यवस्थाका लागि गुहार माग्छौँ ।’ उनले खेलाडी भएर बाँच्न मात्रै गाह्रो रहेको बताए। नवौँ राष्ट्रियमा सुदूरपश्चिमले १० स्वर्ण जित्दा कुस्तीमा मात्रै कञ्चनपुरका पाँच महिला खेलाडीले स्वर्ण दिलाएका थिए।

प्रकाशित : सोमबार, कार्तिक १४, २०७९१५:४१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आज युरो भन्दा बलियो डलर ! कति ?