काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विशिष्ठ परिस्थितिमा गठबन्धन बनेको बताएका छन्। आइतबार धनगढीमा आइतवार आयोजित सत्ता गठबन्धनको कार्यकर्ता भेला र प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा प्रचण्डले विशिष्ठ परिस्थितिमा गठबन्धन निर्माण भएको बताएका हुन्।
भेलालाई सम्बोधन गर्नेक्रममा प्रचण्डले संविधान, गणतन्त्र र व्यवस्था नै धरापमा परेको बेला गठबन्धन निर्माण भएको बताए। गठबन्धनको नेतृत्व तहमा रहेका नेताहरु एक रहेको संकेत आफूहरुले दिन खोजेको प्रचण्डको भनाई छ।
“‘हामी नेतृत्व तहमा केन्द्रीय नेताहरु एक छौँ। हाम्रो मनासाय एकै छ भन्ने सन्देश दिन खोजेका हौँ। हामी प्रदेशका गठबन्धनका साथीहरुसँग साथमै छौँ भन्न आएका हौँ। गठबन्धनको जित पक्का गर्नुपर्छ भन्ने अपिल गर्ने पनि हाम्रो उद्देश्य हो। एउटा विशिष्ठ परिस्थितिमा यो गठबन्धन बनेको हो। संविधान, गणतन्त्र र व्यवस्था नै धरापमा परेको थियो।”,प्रचण्डले भने।
प्रचण्डले बलिदानबाट प्राप्त भएको उपलब्धिको रक्षा गर्न गठबन्धनले जित्नुपर्ने बताए। गठबन्धन कम्जोर भए देश दुर्घटनामा जाने खतरा हुने प्रचण्डको भनाई छ। उनले भने,”हामी कमजोर हुनु् भनेको देश दुर्घटनामा जाने खतरा बढ्नु हो, त्यसैले हामीलाई जिताउनुस्।”
त्यसक्रममा प्रचण्डले देशमा अर्को गठबन्धन पनि बनेको र सो गठबन्धनले प्राप्त उपलब्धिलाई उल्त्याउन खोजेको आरोप लगाए। इतिहासको रछ्यानमा मिल्काइएको राजतन्त्र उल्ट्याउने प्रयास भइरहेको प्रचण्डको भनाइ छ।
“अहिले देशमा अर्को पनि गठबन्धन आएको छ। त्यसको अलग उद्देश्य छ संस्कृति छ। अर्को गठबन्धनले संविधान बदलेर गणतन्त्र उल्ट्याउन खोजिरहेको छ। त्यो गठबन्धन दलहरुका अनुहार हेर्नु भएको होला। इतिहासको रछ्यानमा मिल्काइएको राजतन्त्र उल्ट्याउने रे!”,उनले भने।