काठमाडौँ – सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीले प्रतिगामी शक्तिहरुसँग साँगगाँठ गरेको आरोप लगाएका छन्। अध्यक्ष नेपालले ओलीले राप्रपाजस्ता प्रतिगामी शक्तिहरुसँग साँठगाँठ गरेकाले गणतन्त्र खतरामा पार्ने भन्दै होशियार रहन पनि आम मतदातालाई आग्रह गरे।
चुनावको सम्मुखमा पारेर सत्तारुढ गठबन्धनले शुक्रबार बुटवलमा आयोजना गरेको संयुक्त कार्यकर्ता प्रशिक्षण भेलामा बोल्दै उनले ओलीले थोरै मात्रै शक्ति आर्जन गरे भने आफूहरु देश छोडेर भाग्नुपर्ने अवस्था आउने जिकीर समेत गरे।
ओली राजसंस्थालाई पुनस्र्थापित गर्ने, देशमा घात गर्ने शक्तिहरुसँग मिलेकाले उनीबाट गणतन्त्र खतरामा पर्ने देखिएको अध्यक्ष नेपालको तर्क थिए। उनले केपी ओली सरकारमा रहँदा नै मुलुकमा अनुचित कार्यहरु भएको दोहोर्याउँदै अझै पनि उनका सुधारको सम्भावना नदेखिएको बताए।
अध्यक्ष नेपालले भने, ‘मैले धेरैबाट सुनेको छु–केपी ओली सुध्रनेवाला छैनन्। भनेपछि कता–कता एउटा नयाँ तानाशाहको जन्म, कताकता नयाँ हिटलरको जन्म भए जस्तो लाग्दछ। त्यो हुनाले होशियार, गणतन्त्र खतरामा हुन्छ। केपी ओलीले अलिकति शक्ति आर्जन गरेभने बहुमतको त कुरै छोड्नुस्, देशपछि देश छोडेर भाग्नुपर्ने हुन्छ। यिनले गणतन्त्रलाई जोखिममा पार्नेछन। किन ? जम्मै प्रतिगामी शक्तिहरुसँग उनको साँठगाँठ छ। राप्रपाको नीति क्लिएर छैन ? राजतन्त्र पुनस्र्थापना गर्ने। इतिहासको रछ्यानमा फालिएको त्यो संस्थालाई जीउँदो बनाउने र सत्ता उनको हातमा पुर्याउने शक्तिसँग उनको साँठगाँठ छ। देशलाई कमजोर बनाउने शक्तिहरुसँग उनको साँठगाँठ छ। त्यस्तो खालको शक्तिसँग साँठगाँठ भएपछि त्यो गठबन्धन के अग्रगामी हुन सक्छ? त्यो प्रतिगामी गठबन्धन हो। अपवित्र गठबन्धन हो। त्यो अनुचित गठबन्धन हो। त्यो देशघाती गठबन्धन हो।’
अध्यक्ष नेपालले सत्तारुढ गठबन्धन भने देशको आवश्यक्ता भएको पटकपटक उल्लेख गर्नु भयो। उनले देशमा संविधान रक्षा गर्न, लोकतन्त्रलाई सुदृढ बनाउन आफूहरुले गठबन्धन गर्नु परेको समेत बताए।