काठमाडौँ : प्रत्येक वर्ष कार्तिक महिनाको कृष्णपक्षको त्रयोदशी तिथिका दिन धनतेरस पर्व मनाइन्छ। धनतेरसलाई धनत्रयोदशी पनि भनिन्छ। तिहार धनतेरसबाटै सुरु हुन्छ। धनतेरसको दिन माता लक्ष्मी, भगवान कुबेर र भगवान धन्वनतरीको पूजा गरिन्छ। धनतेरसको दिन लक्ष्मी, भगवान कुबेर र धन्वनतरी देवताको पूजा गर्नाले घरमा सुख-समृद्धि आउने र घर धनधान्यले भरिपूर्ण रहने जनविश्वास छ। धनतेरसको दिन नयाँ चीजहरू किन्नु धेरै शुभ मानिन्छ, विशेष गरी सुन र चाँदीको सिक्का वा गहना।
धनतेरसको दिन सुन र चाँदी किन्दा घरमा सुख–समृद्धि आउने जनविश्वास छ। यो वर्ष धनतेरस पर्व दुई दिन परेको छ। कार्तिक ५ गते शनिबार धनतेरसको पूजा गरिने छ भने दुवै दिन किनमेल गर्न सकिनेछ। धन्वन्तरि जयन्तीको दिन शनि ग्रह मकर राशिमा प्रवेश गर्दैछ। शनिले कार्तिक ६ गते अर्थात काग तिहारको दिन आइतबार बिहान ४:३५ बजे मकर राशिमा गोचर गर्नेछ। मकर राशिमा शनिको गोचरले सबै राशिहरूलाई असर गर्नेछ। आउनुहोस् जानौं यस वर्षको धनतेरसको अवसरमा शनिको गोचरबाट कुन-कुन राशिलाई फाइदा हुन्छ।
• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –
धनतेरसको अवसरमा मिथुन राशिका व्यक्तिहरुको समय आर्थिक दृष्टिले राम्रो रहनेछ। यस अवधिमा तपाईले कुनै विरासत या पैतृक सम्पत्तिको रुपमा या विगतमा गरेको कुनै पनि लगानीबाट अचानक आर्थिक लाभ हुने सम्भावना छ। यस अवधिमा कसैसँग विवाद नगर्नुहोस्। साथै आफ्नो र परिवारको स्वास्थ्यको विशेष ख्याल गर्नुहोस्।
• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –
धनतेरसमा शनिको राशि परिवर्तनका कारण भौतिक लाभ मिल्नेछ। पैतृक सम्पत्ति वा विवादित सम्पत्तिसँग सम्बन्धित मुद्दा-मामिला खेप्दै हुनुहुन्छ भने यस समयावधिमा छुटकारा पाउनुहुनेछ। व्यवसायका लागि कुनै जग्गा, सम्पत्ति वा कार किन्ने सोचमा हुनुहुन्छ भने यो समय तपाईको लागि निकै राम्रो साबित हुनेछ।
• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –
यस समयमा तपाईको धन खर्च नियन्त्रण हुनेछ। यस समयमा तपाईले राम्रो आम्दानी गर्नुहुनेछ र पैसा बचत गर्नमा पनि सफलता मिल्नेछ। यस समयमा तपाईले पारिवारिक जीवनमा उतार-चढावको सामना गर्नुपर्ने हुन सक्छ। स्वास्थ्य अवस्था राम्रो रहनेछ।