सल्यान, पाक्नै लागेको धान बाढीले बगाएपछि सल्यानका किसानहरू हिजोआज बालुवामा धान खोज्न व्यस्त छन् । एक साता परेको अविरल वर्षासँगै आएको बाढी पहिरोले अन्नबालीमा नोक्सानी पुर्याएको छ । यो समाचार गोरखापत्रमा प्रकाशित छ।
पाक्नै लागेको धान, भित्र्याउन तयार भएका मकै बाढी र पहिरोले बगाउँदा किसान चिन्तित भएका छन् । शारदा नगरपालिकाका १२ का मङ्गलबहादुर अधिकारीले यस वर्ष पाँच रोपनी खेतमा धान लगाउनु भएको थियो । शारदा किनारमा पहेरपुर भएर पाकिसकेको धान दसैँ मनाएर काटने तयारी थियो ।
तर एक साता परेको लामो वर्षाका कारण शारदा नदिमा बाढि आएपछि धान काटने त के, उहाँले लगाएको धान सँगै पाँच रोपनी खेत नै बगाएर लग्यो । उहाँलाई अहिले कसरी परिवार पाल्ने भन्ने चिन्ता परेको छ ।
छत्रेश्वरी गाउँपालिका राना गाउँकी मुना रानाको पिडा पनि यो भन्दा फरक छैन, धान काट्ने बेलामा पानी पर्ला, बाढी आउँला, ठुलो नोक्सान गर्ला भन्ने नसोचेकै भयो । २५ मुरी धान फल्ने खेत सबै बाढीले बगाएर लगेको छ । अहिले मङ्गल र मुना जस्ता अधिकांश किसानको शारदा खोला आसपासमा बगाएको धान बालुवामा खोजिरहेका छन् ।
कपुरकोट ५ सलामका विजयसिंह बुढाको घर सहित खेतबारी पनि पहिरोले बगायो । उहाँ स्थानीय सरकारले व्यवस्थापन गरेको विद्यालयमा बसिरहनु भएको छ । यहाँका १४ घरपरिवारको घर खेतीयोग्य जमिन पहिरोले बगाएको छ ।