लोक सेवाले माग्यो ठूलो संख्यामा उपसचिव–सहसचिव !

काठमाडौं । लोकसेवा आयोगले विभिन्न सेवा समूह गरी ठूलो संख्यामा उपसचिव र सहसचिवको विज्ञापन निकालेको छ ।

आयोगले आफ्नो पूर्वनिर्धारित तालिकाअनुसार बुधबार विभिन्न सेवा समूहमा गरी ४ सयभन्दा बढी उपसचिव र सहसचिव पदका लागि विज्ञापन प्रकाशित गरेको हो ।

४ सय बढी पदमा परीक्षा हुँदै

लोकसेवा आयोगका अनुसार निजामतीतर्फ सहसचिव र उपसचिव, स्वास्थ्य सेवातर्फ ११औं र नवौं तह, मानवअधिकार सेवाको अधिकृत प्रथम र द्वितीय, संघीय संसद्को राजपत्रांकित प्रथम र द्वितीयको प्राविधिक र अप्राविधिक गरी ४ सयभन्दा बढी उपसचिव र सहसचिवको विज्ञापन भएको हो ।

केही समयअघि मात्रै ती सेवा समूहका विभिन्न पद माग गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लोकसेवा आयोगमा माग फाराम पठाएको थियो । मन्त्रालयको सोही मागका आधारमा लोकसेवा आयोगले ४ सयभन्दा बढी पदमा विज्ञापन गरेको हो ।

प्रशासन सेवातर्फ उपसचिव सामान्य प्रशासनतर्फ ८०, राजस्वतर्फ १७ र लेखातर्फ १४ जनाको विज्ञापन प्रकाशन गरेको छ भने सहसचिवका लागि २२ पदमा विज्ञापन गरिएको आयोगले जनाएको छ ।

निजामती सेवा ऐन र नियमावलीअनुसार रिक्त ४ सयभन्दा बढी पदमा मागिएको विज्ञापनको अधिकांश पद आन्तरिक प्रतिस्पर्धा गर्ने खालका छन् । जसका कारण निजामती सेवामै रहेका धेरै कर्मचारीको प्रतिस्पर्धाका आधारमा बढुवा हुनेछ ।

सहसचिव र उपसचिवमा रिक्त पदको १० प्रतिशत भने खुला प्रतिस्पर्धाका आधारमा पदपूर्ति गर्ने कानुनी प्रावधान छ । यो पदमा भने निजामती सेवामा रहेकाबाहेकले पनि प्रतिस्पर्धा गर्न सक्छन् । तर, खुला १० प्रतिशतमा पनि निजामती सेवामै रहेकाले नाम निकाल्ने गरेका छन् । बाहिरबाट जानेको सम्भावना निकै कम हुने गरेको छ ।

प्रकाशित : बिहिबार, असोज २७, २०७९०७:५७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

चार मन्त्री हटाउने मुडमा देउवा ! को-को ?