बाजुरा । यतिबेला अन्यत्रझै बाजुरा पनि चुनावी माहोलमा रंगिसकेको छ । आइतबार प्रमुख दलका नेताहरूले सदरमुकाम मार्तडी पुगेर आफ्नो उम्मेदवारी दर्ता गराएपछि चारैतिर चुनावकै चर्चा शुरु भएको छ । यो समाचार नेपाल समाचारपत्रमा प्रकाशित छ ।
तर, यतिबेला सदरमुकाम मार्तडीमा न सडक सञ्जाल छ, न त पानी, विद्युत्, टेलिफोन र इन्टरनेट नै छ । स्थानीय इन्जिनियर डम्मरप्रसाद जोशी भन्नुहुन्छ– ‘चुनाव आयो, बाटो आएन ।’ यद्यपि, कतिपय उम्मेदवारले यसपालिको निर्वाचनको प्रमुुख एजेन्डा नै सडक निर्माण र साँफे–मार्तडी सडक खण्डको पहिरो नियन्त्रणलाई बनाएका छन् ।
वर्षायाममा आएको पहिरोका कारण सडक अवरुद्ध भएपछि बडीमालिका नगरपालिका वडा नं. ४ रिलाका महावीर नेपाली र दीपेन्द्र नाथलगायतका युवाहरूको दिनचर्या नै पहिरोमा फसेका बाइक ओसार्नु बनेको छ ।
महावीर भन्नुहुन्छ– ‘बिहान उठ्यो, घरको आँगन छेउमा उभिएर बल्देको पहिरो चिहायो । पहिरोनजिक कसैको बाइक रोकिएको छ कि हेर्यो । बाइक भए साथीहरूलाई एक कल फोन घुमायो, साथी बोलायो, बाइक ओसार्ने ठाउँ पुग्यो बाइक मालिकसँग मोलतोल मिलेपछि बाइक बोक्यो पहिरो कटायो ।’
ती युवाहरूको आठ जनाको समूहलाई दैनिक पहिरोका कारण फसेको मोटरसाइकल ओसार्न र अम्कोटबाट दवारी आउँदा साउजीको सामान बोक्न भ्याइ नभ्याइ छ । करिब दुई किलोमिटर बाटो अवरुद्ध पार्ने पहिरोमा एउटा मोटरसाइकल बोकेको पाँच हजार देखि सात हजार रुपियाँसम्म लिने गरेको महावीरको भनाइ छ । उहाँ भन्नुहुन्छ– ‘पहिरोमा ज्यान जोखिममा राखेर बाइक ढुवानी गर्छौं । आठ–दश जना नभए बाइक उचाल्नै सकिँदैन ।’
