एमाले भित्र फेरी अर्को विद्रोह, पार्टी फेरी फुट्न सक्ने !

काठमाडौँ – ठूलो पार्टी बन्ने महत्वाकांक्षासहित प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिन लागेको नेकपा एमालेमा टिकट वितरणलाई लिएर तीव्र असन्तुष्टि देखिन थालेको छ। यसले पार्टीभित्रै विद्रोह हुने संकेत पनि गरेको छ। यो समाचार नागरिक दैनिकमा प्रकाशित छ।

अध्यक्ष केपी शर्मा ओलीले टिकट वितरणमा पक्षपातपूर्ण व्यवहार गरेको र एमाले विभाजनका बेला विभाजनतर्फ नलागेका कतिपय नेतालाई प्रतिशोध साँधेपछि असन्तुष्टि प्रकट भएको हो। अध्यक्ष ओलीले जसपासँग सहकार्य गरेपछि यसको विरोधमा पूर्वी पहाडी जिल्लाहरूमा बढी असन्तुष्टि प्रकट भएको छ।

अध्यक्ष ओलीले टिकट वितरणमा पक्षपात गरेको आरोप लगाउँदै एमाले स्थायी कमिटी सदस्य घनश्याम भुसालले पार्टी छाडेको घोषणा गरेका छन्। एमालेमा बौद्धिक र सिद्धान्तनिष्ठ नेताका रूपमा परिचित उनको यस्तो घोषणाले पार्टीलाई असर पर्ने देखिन्छ। अध्यक्ष ओलीले भुसाल, भीम रावललगायत केही नेतालाई टिकट नदिएर प्रतिशोधपूर्ण व्यवहार गरेपछि पार्टीभित्र विद्रोह हुने अवस्था देखिएको एक नेताले बताए।

अध्यक्ष ओलीले महाधिवेशनमा आफूसँगै अध्यक्षमा प्रतिस्पर्धा गरेका रावललाई अछाममा टिकट नदिई माओवादी केन्द्रबाट एमालेमा आएका व्यापारी झपट बोहोरालाई उम्मेदवार बनाउने निर्णय गरेका छन्। यसको विरोधमा अछाम जिल्लाका नेता–कार्यकर्ताले रावलको पक्ष वकालत गर्दै राजीनामा दिएका छन्। अछाम एमालेका ३८ जना नेताले सामूहिक राजीनामा दिएका छन्। उनीहरूले शनिबार एमाले अछाम जिल्ला अध्यक्षलाई सम्बोधन गर्दै राजीनामा दिएका हुन्।

राजीनामा दिनेमध्ये ३० जना जिल्ला कमिटी सदस्य र बाँकी सल्लाहकार थिए। ‘तल्लो कमिटीद्वारा गरिएको सर्वसम्मत निर्णयको बेवास्ता तथा पार्टी नेता, कार्यकर्ता एवं जनभावनाविपरीत निर्णय भएकाले घोर भत्र्सना गर्दै हामीले आ–आफ्नो पदीय जिम्मेवारीबाट आजैका मितिदेखि लागु हुनेगरी सामूहिक राजीनामा गर्दछौं,’ राजीनामा पत्रमा लेखिएको छ। प्रतिनिधिसभा सदस्य प्रत्यक्ष निर्वाचनतर्फ रावललाई अछाम–१ बाट उम्मेदवार बनाउन जिल्ला कमिटी र सुदूरपश्चिम प्रदेश कमिटीले सिफारिस गरेको थियो।

अछाम– १ बाट रावलको नाममात्र सिफारिस भएको थियो। तर ओलीले रावललाई टिकट दिएनन्। एमालेले टिकट नदिएपछि पार्टी छाडेका नेता भुसालले रूपन्देही–१ बाट स्वतन्त्र रूपमा निर्वाचन लड्ने तयारी गरेका छन्। उनले शनिबार दिउँसो सामाािजक सञ्जालमा लामो स्टाटस लेख्दै एमाले छाड्नुपरेकोमा दुःख व्यक्त गरेका छन्। उनले एमाले ओलीको कैदीजस्तो भएको आरोप लगाएका छन्।

टिकट वितरणमा भएको पक्षपातपूर्ण व्यवहारप्रति असन्तुष्टि पोख्दै पूर्वकेन्द्रीय सदस्य केशव देवकोटाले साधारण सदस्यसमेत नरहने गरी एमाले परित्यागको घोषणा गरेका छन्। लामो समयदेखि एमालेमा क्रियाशील उनले एमालेमा मूल्यांकन गर्ने परिपाटी निकै कमजोर रहेकाले आफूले पार्टी परित्याग गर्नुपरेको बताएका छन्। उनी सिन्धुलीका हुन्।

सुनसरीमा पनि एमाले नेता तथा कार्यकर्ताबाट विद्रोहको तयारी भएको छ। सुनसरी निर्वाचन क्षेत्र–१ मा एमालेले जसपा नेता अशोक राईलाई सघाउने सहमति गरेको छ। कांग्रेसले सुनसरी १ मा माओवादीलाई सहयोग गर्ने भएको छ। धरान उपमहानगरपालिकाका सबै २० वडा, बराहक्षेत्रका १ देखि ५ र रामधुनीका ६ र ७ वडा रहेको सुनसरी १ मा एमाले नेता मनोज मेन्याङ्बोले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन्।

एमाले मोरङ जिल्ला कमिटीका सचिव रूपेश खतिवडाले पनि पार्टी छाडेको घोषणा गरेका छन्। प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भएको टिकट वितरणमा असन्तुष्टि जनाउँदै उनले पार्टीबाट राजीनामा दिएका हुन्। उनले राजीनामापत्रमा एमाले मोरङतर्फबाट उम्मेदवार सिफारिस गर्दा पार्टीको नीति सिद्धान्त र विधिविपरीत केही व्यक्तिको स्वार्थअनुकूल सामाजिक सञ्जालमा प्रचार गरिएकाले असहमत भएको उल्लेख गरेका छन्।

प्रकाशित : आइतबार, असोज २३, २०७९०९:०८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

टिकट पाइसकेपछि पनि यी नेताले आफ्नै दललाई दिए ‘धोका’ !