काठमाडौँ – नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले रवीन्द्र मिश्र र आफू उस्तै नरहेको दावी गरेका छन्। बुधबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा भट्टराईले बाबुराम र रवीन्द्र मिश्र उस्तै रहेछन् भन्दै हुन थालेका टिप्पणीलाई अस्विकार गरेका हुन्।
भट्टराईले सामाजिक सञ्जालमा ‘बाबुराम र रवीन्द्र मिश्र उस्तै रहेछन्’ भन्नेकुरा उठिरहेको उल्लेख गर्दै पुरातन राजावादी र अग्रगमनकारी शक्ति कहिल्यै उस्तै नहुने बताए। पार्टी परिवर्तन भएपनि आफ्नो दिशा र विचार एउटै रहेको भट्टराईले दावी गरे।
त्यसक्रममा भट्टराईले सखर र गोबर उस्तै-उस्तै देखिने भएपनि आधारभूत रुपमै दुवै चीज फरक रहेको बाबुरामले बताए। राजावादी र अग्रगमनकारी शक्तिलाई एकै ठाउँमा दाँज्नु बेकार हुने भट्टराईको भनाई छ।
“सामाजिक सञ्जालमा म र रवीन्द्र मिश्र उस्तै रहेछन् भन्ने कुरा आइरहेकाे रहेछ । रवीन्द्र मिश्र राजावादीतिर जाँदैछन्, बाबुराम पनि पछि फर्किए भनेर लेखेकाे देख्न सकिन्छ । गुड (सखर) र गोबर हेर्दा त उस्तै–उस्तै हुन्छ तर कति गहिराइमा गएर हिँडेको छ भन्ने कुरा हो, त्यसको आधारभूत कुरा त केही मिल्दैन । हामी अग्रगमनको कुरा गरिरहेका छौँ । समुच्चतामा समाज रूपान्तरणको कुरा गरिरहेका छौँ भने अर्को मान्छे फेरि पछाडितिर घुमाइ फिराइ राजतन्त्र, एकात्मक राज्यसत्ता, निरङ्कुशतातिर फर्किने अभ्यास गरिरहेको छ । त्यसैले यो एउटै भन्न मिल्दैन, यस कारण युवा विद्यार्थीहरू सामाजिक सञ्जालमा यस्ता कुराबाट मुक्त हुनुपर्छ ।”,बाबुरामले भने।
भट्टराईले संस्कृतिलाई समयानुकूल परिवर्तन गर्न आवश्यक रहेको पनि बताए। कृषिप्रधान कालखण्डमा भगवानको परिकल्पना गर्नु स्वाभाविक भए पनि अब मानिसको चेतनाअनुसार परिवर्तन गर्न सक्नुपर्ने भट्टराईको भनाई छ।
उनले भने,”चाडपर्वलाई हामीले गतिशीलतामा हेर्नुपर्छ । कृषिप्रधान कालखण्डमा बनाइएका, ज्ञान र विज्ञानको आविष्कार नभएका बेलामा एउटा भगवानको परिकल्पना गरेर आ–आफ्नो प्रकारका भगवानको आविष्कार गरिएको थियो । किनभने त्याे बेला विज्ञान गतिका नियमहरू थाहा थिएन । जस कारण ठूलो एउटा महाशक्ति हुनुपर्छ, जसले यो चलाइरहेको छ भन्ने अनुमान गरेर सिर्जना गरिएका थिए । धेरैजसाे चाडपर्वमा त्यस्तै देखिन्छ । पहिला त स्वाभाविक थिए । अब मानिसको चेतनाअनुसार परिवर्तन गर्नसक्नुपर्छ ।”