काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन पछि प्रधानमन्त्री नबन्ने भएका छन्। प्रचण्डले आफैं निर्वाचनपछि प्रधानमन्त्री बन्ने दौडमा आफू नरहेको घोषणा गरेका हुन्।
सोमबार चितवनमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा प्रचण्डले आफू प्रधानमन्त्री बन्ने रेसमा नरहेको घोषणा गरे। प्रधानमन्त्रीको रेसमा भन्दा पनि आर्थिक विकास र समृद्धि आफ्नो प्राथमिकतामा रहेको प्रचण्डको भनाई छ।
प्रचण्डका अनुसार केहि वर्ष देखि उनी प्रधानमन्त्री बन्ने रेसमा छैनन्। त्यसक्रममा प्रचण्डले चाहेको भए २०७४ सालको चुनावपछि नै आफू प्रधानमन्त्री बनिसकेको हुने दावी गरे।
“मंसिर ४ मा चुनाव आउँदैछ। यहाँ प्रधानमन्त्रीको कुरा पनि आयो। म प्रधानमन्त्रीको रेसमा केही वर्षदेखि छैन। मैले चाहेको भए २०७४ मा पाँचै वर्षका लागि प्रधानमन्त्रीको अफर थियो। अहिले पनि छ तर मैले जनताको आर्थिक विकास र समृद्धिलाई पहिलो प्राथमिकता ठानेको छु।”,प्रचण्डले भने।
यस्तै प्रचण्डले संविधान उल्ट्याएर गणतन्त्र कमजोर बनाउने षडयन्त्र भइरहेको पनि बताए। देशमा परिवर्तन ल्याउने पार्टी र नेताहरुलाई बद्नाम गर्ने षड्यन्त्र चलिरहेको प्रचण्डले दावी गरे।
उनले भने,”अहिले पनि एक थरी तत्वहरू यो संविधानलाई कसरी उल्ट्याउने होला ? यो संघीय लोकतान्त्रिक गणतन्त्रलाई के गरी कमजोर पार्ने होला, पार्टीहरूलाई के गरी बदनाम गर्ने होला । परिवर्तनमा योगदान गर्ने नेतालाई के गरी बदनाम गर्ने होला भनेर लागेकै छन्।”