काठमाडौँ – निर्वाचन आयोगले कर्मचारीको सरुवा रोक्न सरकारलाई निर्देशन दिएको छ। निर्वाचन नजिक आइरहेको अवस्थामा सरकारले ठूलो संख्यामा कर्मचारीहरुको सरुवा गर्न थालेसँगै निर्वाचन आयोगले सरकारलाई सरुवा रोक्न निर्देशन दिएको हो।
आसन्न निर्वाचनका लागि अस्थायी मतदाता नामावलीमा कर्मचारीको नाम समावेश गर्ने प्रक्रिया सुरु भइसकेको अवस्थामा सरकारले सरुवा सुरु गरेसँगै आयोगले यस्तो निर्देशन दिएको बुझिएको छ।
विभिन्न तहका सरकार तथा सार्वजनिक निकायले कर्मचारी सरुवा गरिदिँदा अस्थायी मतदाता नामावली सङ्कलनको कार्यमा बाधा उत्पन्न हुने आयोगले जनाएको छ। कर्मचारीको सरुवा नरोकिँदा निर्वाचन व्यवस्थापनमा समेत प्रतिकूल प्रभाव पर्ने आयोगको निष्कर्ष रहेको छ।
निर्वाचन आयोगको अनुमति नलिई कुनै पनि कर्मचारीको सरुवा नगर्न नगराउन र असोज ५ गतेसम्म सरुवा भइसकेको अवस्था भए तत्काल रमाना असोज ९ गतेसम्म सम्बन्धित कार्यालयमा हाजिर भइसक्ने व्यवस्था गर्न निर्देशन दिएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत नेपाल सरकार, सबै प्रदेश सरकार र सबै स्थानीय तहहरूलगायत सबै सार्वजनिक निकायहरूलाई निर्देशन दिएको आयोगले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।