काठमाडौँ – नेकपा एमालेका नेता महेश बस्नेतले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको निर्णयको स्वागत गरेका छन्। बुधबार युवा संघले बुधवार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा नेता बस्नेतले भण्डारीको कदमको स्वागत गरेका हुन्।
नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमको समर्थनमा युवा संघले बुधवार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा नेता बस्नेतले सबै नेपालीको भावना बुझेर राष्ट्रपतिले कदम चालेको बताए।
“महामहिम राष्ट्रपति ज्युको साहसिक कदमलाई उच्च सम्मान !”,नेता बस्नेतले भने,”राष्ट्रपतिज्युले सबै नेपालीको भावनालाई बुझिदिनु भएको छ, सम्बोधन गरिदिनु भएको छ। नागरिकता विधेयकलाई प्रमाणीकरण नगरेर निस्तेज पारियोस् भन्ने सारा नेपालीको चाहन पूरा गर्नु भएको छ।”
बस्नेतले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भनेर नेपाली कांग्रेसका कतिपय सांसदले राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउने कुरा गरिरहेको भन्दै त्यस्तो दुस्साहस नगर्न चेतावनी समेत दिए। सभामुख अग्निप्रसाद सापकोटाले शेरबहादुर देउवा र प्रचण्डको झोले बनिरहेको आरोप पनि उनले लगाए।
उनले भने,”कांग्रेसका केही सांसदले महाअभियोग लगाउने धम्की दिइरहेका छन् । सभामुख अग्निप्रसाद सापकोटाले शेरबहादुर देउवा र प्रचण्डको झोले बनेर दोहोरो भाषा बोल्दै संसदको अधिवेशन छ भन्ने ढंगले कुरा गरेका छन्। मरेको सदनलाई ब्युताउने र राष्ट्रपतिलाई महाअभियोग लगाउने दुस्साहस गरे गठबन्धनले मूल्य चुकाउनुपर्नेछ । हिम्मत छ भने शेरबहादुर देउवा र आरजुविरुद्ध महाअभियोग लगाउनुस्।”