काठमाडौँ – काठमाडौं महानगरपालिकाले बिहीबार हात्तीसारस्थित जय नेपाल सिनेमा हल क्षेत्रमा उत्खनन गरेको टुकुचाको भूमिगत स्वरूप राणाकालमै रहेको तथ्य भेटिएको छ। करिब १३० वर्षअघि तत्कालीन प्रधानमन्त्री वीरशमशेर राणाले बनाएको पानी बग्ने उक्त गुम्बजको संरक्षणमा सरोकारवालाले ध्यान दिनुपर्ने विज्ञहरू बताउँछन्। यो समाचार नागरिक दैनिकमा प्रकाशित छ।
‘एक सय वर्षभन्दा अगाडिको यो संरचना अहिलेका विद्यार्थीका लागि अध्ययनको विषय बन्नेछ,’ जलाधारविज्ञ मधुकर उपाध्याय भन्छन्, ‘परम्परागत तरिकाबाट बज्र, चुनालगायत सामग्रीले जोडेर बनाइएको यस्तो संरचना जथाभाबी भत्काउनेभन्दा पनि संरक्षण जरुरी छ।’
त्यस्तै धेरै पहिला टुकुचालाई भूमिगत बनाइएका कारण यस क्षेत्रमा रहेका घरधनीहरूको पनि कुनै गल्ती नभएको उनको बुझाइ छ। ‘त्यो समयमा कुनै उद्देश्यका साथ टुकुचालाई छोपिएको थियो होला,’ उनले भने, ‘त्यसको दण्ड अहिलेका घरधनीले भोग्नु जायज हुँदैन।’ यो अतिक्रमण नभई तत्कालीन समयमा राज्यले गरेको व्यवस्थापन भएको उपाध्यायको बुझाइ छ। ‘त्यसैले यहाँ कुनै पनि किसिमको भौतिक संरचना बनाउने व्यक्ति वा निकायलाई टुकुचा अतिक्रमण गरेको आक्षेप लगाउनु अनुचित हुन्छ,’ उनले भने, ‘अतिक्रमण नै मान्ने हो भने पनि राज्यकै स्वीकृतिमा भएको हो। यहाँ घर बनाउनेले त्यही स्वीकृतिमा बनाएका हुन्।’
उपाध्यायको भनाइसँग टुकुचा आसपास क्षेत्रका सर्वसाधारण सहमत छन्।
‘अहिलेसम्म मेरो घरजग्गामा खोला पर्छ भन्ने पक्का भएको छैन,’ जय नेपाल सिनेमा हलभन्दा केही परका योगेश मिश्रले भने, ‘कतै भेटियो भने अनाहकमा हामी पीडित बन्नेछौं।’
काठमाडौं महानगरपालिकाले टुकुचालाई पुरानै स्वरूपमा ल्याउने भनेको छ। टुकुचामा पानीको बहावका लागि चार मिटर र दायाँबायाँ चार-चार मिटरको करिडोर बनाउने महानगरको योजना छ। महानगरले करिडोरमा पैदल मार्ग, साइकल लेन र हरियाली पार्कसमेत निर्माण गर्ने भनेपछि मिश्रजस्तै थुप्रै त्रसित छन्।
वर्षौंदेखि भोगचलन गरेको ठाउँमा एकाएक उत्खनन गर्दा आफूहरू समस्यामा पर्ने मिश्रले बताए।‘मेरा बुबाले त्यतिबेलाको सरकारी नियमअनुसार नै यस क्षेत्रको जमिन नियमसंगत किनेका हुन्,’ मिश्र भन्छन्, ‘तर अहिले आएर हामीमा त्रास छाएको छ।’