कोच ‘ए ए’: हावाहुरीजसरी नेपाल आए, तहल्का मच्चाए !

काठमाडौँ — ‘ए ए’ । अर्थात् अब्दुल्लाह अल्मुताइरी । जत्तिले उनीसँग नजिकले संगत गर्न पाए, सबैले मायाले छोटकरीमा ‘ए ए’ नै भन्छन् । हावाहुरीजसरी उनी नेपाल आए । तहल्का मच्चाए । तहल्का के र ? उपद्रो नै मच्चाए । एक प्रकारले फुस्स हराए । भर्खरै उनले फेरि एकपल्ट नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएका छन् । सबैले सुन्ने गरेर सायद तेस्रोपल्ट । एक दुई जनाले देख्ने गरेर त धेरैपल्ट । यसपल्टको राजीनामाले धेरै हल्ला भने पाएन । यो लेख कान्तिपुर दैनिकमा प्रकाशित छ ।

विश्वास गरौं, अब चाहिँ उनी फेरि काठमाडौं आउने छैनन् । र, फेरि नेपाली राष्ट्रिय टिमको योजना प्रस्तुत गर्ने छैनन् । माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिप २०२१ (पुरुष) मा बंगलादेशलाई बराबरीमा रोकेयता नेपाल फाइनल पुगेको थियो । यसअघि नेपाल कहिल्यै पनि फाइनल पुगेको थिएन, त्यो खास प्रतियोगितामा । त्यतिबेला पुग्यो । यो वास्तवमै ऐतिहासिक क्षण थियो । नेपाली फुटबललाई मन पराउनका लागि यो गर्व गर्न लायक क्षण थियो ।

जस त अल्मुताइरीले पनि पाउनुपर्ने थियो । तर, उनले नै सबै मज्जा किरकिर पारिदिए । खेल सकेर सायद नेपाली खेलाडीको पसिना सुकेको पनि थिएन । के के न भएजस्तो घोषणा गरिहाले, ‘अब म नेपाल फर्कने छैन ।’ एउटा राम्रो समाचार बनाउने अवसर थियो, त्यसलाई उनको राजीनामाले ओझेलमा पारिदियो । उनले साह्रै बैगुनी काम गरेका थिए । यत्तिको खराब काम नेपाली फुटबल इतिहासमै कसैले गरेको थियो होला । तर, त्यसपछि पनि उनी नेपाल फर्के ।

त्यसैले अहिले पनि उनको विश्वास गर्न गाह्रो छ । अब भने साँच्चै विश्वास गरौं र एक पूर्वप्रशिक्षकका रूपमा उनको चर्चा गरौं । अल्मुताइरी राम्रा थिए । यस्तो धारणा राख्ने पनि छन् । अल्मुताइरी राम्रा थिएनन् । यस्तो भन्ने पनि उत्तिकै छन् । हो चाहिँ के त ? खासमा उनको व्यक्तित्व साह्रै पेचिलो छ । त्यसैले उनीबारे के भन्ने र के नभन्ने ? त्यो नै भन्न गाह्रो छ । उनी पक्कै फुटबलका ‘किरा’ थिए । फुटबलको ज्ञानमा उनलाई महारथी नै प्राप्त थियो ।

उनकै भाषामा उनी फुटबलका ठूलै पागल थिए । पढे लेखेकै कुरा गर्दा नेपाली फुटबलले उनी जत्तिको प्रशिक्षक पहिलोपल्ट पाएको थियो । उनी दिनरात फुटबलबारे सोच्थे । विश्वास नहुन सक्छ, उनलाई फुटबल भनेपछि निदाउन पनि आवश्यक थिएन । त्यसैले अधिकांश समय सन्चो नभएजस्तो पनि देखिए । यस्तो देखिनुको कारण अत्यधिक धूमपान, कफी र अनिदो नै थियो । धूमपान गर्नै नहुने मान्छे थिए, तर क्षण–क्षणमा सल्काइरहन्थे, स्वास्थ्यलाई बेपरवाह गर्थे ।

मनमा नानाथरीका कुरा खेलाइरहनुपर्ने बानी थियो । आफू चारैतर्फबाट षड्यन्त्रले घेरिएको मान्थे । त्यसैले सधैं कान ठाडो पारिरहन्थे । मनमा फुत्त के कुरा आयो, सामाजिक सञ्जालमा लेखिहाल्थे । आम फुटबलप्रेमीको वाहवाह लुट्थे । अन्तर्राष्ट्रिय फुटबलमा उनको सम्बन्ध राम्रैसँग बाक्लो थियो, त्यसैले कतै कहीं फोन गरेको भरमै ठुल्ठूला काम गर्न सक्थे । एकपल्ट कोही खेलाडी मन पर्नुपर्छ, उनका लागि सबथोक गर्थे ।

प्रकाशित : शुक्रबार, भदौ ३१, २०७९०७:४०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

पर्यो डिभी, अमेरिका नपुगेर पुगे जेल !