प्रचण्डको दावी – ‘जनताले देशको चाबी माओवादीलाई नै दिन चाहेका छन्’

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीको हातमा जनताले देशको चाबी दिन चाहेको दावी गरेका छन्। बिहिबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा प्रचण्डले देशको चाबी जनताले माओवादीको हातमा दिन खोजिरहेको बताएका हुन्।

माओवादीका दिवङ्गत नेता पोष्टबहादुर बोगटीको आठौँ स्मृति दिवसका अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले देशको राजनीति कता लैजाने भन्ने कुराको फैसला माओवादीले गरोस् भन्ने चाहना जनताको रहेको बताए।

“स्थानीय तहको सन्देश के हो भने जनता अहिले पनि माओवादी पार्टीको हातमा नै देशको चाबी दिन चाहन्छन्, देशको राजनीति कता लैजाने भन्ने कुराको फैसला माओवादीले गरोस् भन्ने चाहना छ जनताको।”,प्रचण्डले भने।

प्रचण्डले जनयुद्ध र जनआन्दोलनका बलमा स्थापित संविधान, समावेशी समानुपातिक प्रतिनिधित्वलगायतका उपलब्धिमाथि निरन्तर प्रहार भएको भन्दै त्यसलाई जोगाउन पनि माओवादी बलियो हुनैपर्ने बताए।

गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा आन्तरिकरूपमा केही प्राविधिक विषय मिलाउन नसक्दा वामपन्थी शक्तिहरूमा पहिलो हुने अवसर गुमेको भन्दै उनले त्यसबाट र गठबन्धनका दलबीचको सहकार्यबाट समेत शिक्षा लिएर आगामी निर्वाचनमा झनै प्रतिबद्ध भएर लाग्न सबैलाई आग्रह गरे ।

उनले पार्टीको नीति र विधिविपरीत गएर व्यक्ति केन्द्रित गतिविधि नगर्नसमेत पार्टीका नेता तथा कार्यकर्तालाई सचेत गराए। उनले भने, “पार्टीले निर्णय गरिसकेपछि त्यो व्यक्ति हुँदैन, पार्टी हुन्छ, त्यहाँ व्यक्ति हार्दैन, पार्टीले हार्छ । त्यो विषयलाई गम्भीरताका साथ लिन म सबैलाई आग्रह गर्दछु ।”

माओवादी आन्दोलन वा कम्युनिष्टको सार्थक प्रयास नभएको भए सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशी, समानुपातिक लोकतन्त्र पनि स्थापित हुन नसक्ने तथ्यलाई सबैले आत्मसात् गरेको खण्डमा खासरूपमा पोष्टबहादुर बोगटीप्रति सच्चा सम्मान हुने उनको भनाइ छ ।

उनले भने, “माओवादी कमजोर भयो वा जनतासँगको सम्बन्ध सुदृढ हुन सकेन भने जनयुद्धबाट प्राप्त भएको परिवर्तन उल्टन सक्छ । गत साल त्यस्तै खालको तितो र नमिठो अवस्थाको अनुभव गर्न पायौँ ।”

वामपन्थी र कम्युनिष्ट पार्टीको एकताबाट समृद्धिको सपना पूरा हुन्छ भन्ने देखेर प्रक्रिया अगाडि बढाइएको भए पनि चरम व्यक्तिवाद र अहङ्कारका कारण त्यो सफल नभएको बरु प्राप्त उपलब्धि विघटनमा पर्ने अवस्था देखिएको अध्यक्ष दाहालको भनाइ छ ।

प्रकाशित : बिहिबार, भदौ ३०, २०७९१३:०८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

चितवनमा माओवादीलाई धक्का, केन्द्रीय सदस्य परियार एमालेमा प्रवेश !