चोल्नेद्रले पोलेका सर्वोच्चका न्यायाधीश समितिमा नजाने !

काठमाडौँ, महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बयानका क्रममा नाम लिएका व्यक्तिलाई छलफलका लागि बोलाएको छ। समितिले बिहीबार बहालवाला न्यायाधीश, पूर्वप्रधानन्यायाधीश, पूर्वन्यायाधीश समाजका प्रतिनिधिलाई छलफलमा बोलाएको हो। यो समाचार गोरखापत्रमा प्रकाशित छ।

तर, सर्वोच्चका बहालवाला न्यायाधीशहरू भने समितिमा नजाने हुनुभएको छ। सर्वोच्चका न्यायाधीशहरूको पूर्ण बैठक (फुल कोर्ट)ले समितिमा कुनै पनि न्यायाधीश उपस्थित हुन नमिल्ने निर्णय गरेको पत्र महाभियोग समितिलाई पठाएको छ।

यस्तै बारका पूर्वअध्यक्षहरू तथा केही कानुन व्यवसायीलाई पनि समितिले आमन्त्रण गरेको छ। फरक–फरक समयमा समूहगत रूपमा नै समितिले उनीहरूसँग छलफल गर्नेछ।

समिति सचिव लक्ष्मीप्रसाद गौतमले नाम लिएका व्यक्तिहरूलाई समितिमा उपस्थित हुन पत्राचार गरिएको बताउनुभयो। गौतमले भन्नुभयो, “बयानका क्रममा उहाँले लिनुभएका नाम र सम्बद्ध संस्थाका प्रतिनिधिलाई हामीले आमन्त्रणका लागि पत्राचार गरेका छौँ। फरक–फरक समय दिएका छौँ। सम्भव भएसम्म बिहीबार नै सबैसँग परामर्श गर्छौं।”

समितिले महाभियोगको विषय उठान गर्नेमध्येका नेपाल बार एसोसिएसन, सर्वोच्च अदालत बार एसोसिएसन, पूर्वन्यायाधीश फोरमलाई उपस्थितिका लागि पत्राचार गरेको छ। फरक–फरक समयमा उपस्थितिका लागि पत्राचार भएको छ। यसअघि तीनैवटा संस्थाले महाभियोगबारेमा सम्बद्ध प्रमाणहरू पनि समितिमा बुझाएका थिए।

यस्तै समितिले सर्वोच्चका ६ जना बहालवाला न्यायाधीशलाई पनि बोलाएको थियो। समितिले कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू हरिकृष्ण कार्की, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई, प्रकाशमानसिंह राउत र हरि फुयाललाई आमन्त्रण गरेको थियो।

बयानका क्रममा जबराले कामु कार्की प्रधानन्यायाधीश बन्ने लालसामा महाभियोगको षड्यन्त्रमा लागेको आरोप लगाउनुभएको थियो। यस्तै खतिवडा र भट्टराईको नाम असार २८ को प्रतिनिधि सभा पुनस्र्थापनाको फैसलासँग जोडेर लिनुभएको थियो। न्यायाधीश कार्कीको नाम चासो रहेका मुद्दा मात्र हेर्ने भनेर लिनुभएको थियो। राउतले मुद्दामा बार्गेनिङ गर्ने गरेको आरोप लगाउनुभएको थियो। फुयालको नाम भने संवैधानिक निकायका पदाधिकारी नियुक्तिविरुद्धको मुद्दाको प्रक्रिया रोक्न आदेश गरेको भन्दै समितिमा उठेको थियो।

प्रकाशित : बिहिबार, भदौ ३०, २०७९०६:४७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

‘झारा टार्न’ नाका खोलेको जस्तो गर्दै चीन !