जनकपुरधाम, एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई कालो झण्डा देखाउँदा पक्राउ परेकालाई रिहा गर्न आग्रह गरेका छन् । जनकपुरमा सोमबार आउँदा ओलीलाई कालो झण्डा देखाएको आरोपमा केही पक्राउ परेका थिए ।
तर, ओलीले उनीहरुलाई रिहा गर्न प्रहरीलाई आग्रह गरेका हुन् । जनकपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा ओलीले कालो झण्डा देखाएको आरोपमा पक्राउ परेका सबैलाई रिहा गर्न आग्रह गरेका हुन् ।
गलत सूचनाका आधारमा उनीहरु कालो झण्डा देखाएको भन्दै ओलीले उनीहरुलाई तत्काल रिहा गर्न प्रहरी प्रशासनलाई आग्रह गरेका हुन् ।
केपी ओलीले सुरु गरे चुनावी अभियान
प्रमुख प्रतिपक्षी नेकपा एमालेले चुनावी अभियान थालेको छ । अध्यक्ष केपी शर्मा ओलीले सोमबार सामाजिक सञ्जालमार्फत् चुनावको अभियान थालेका हुन् ।
आउँदो ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिकको बन्द सूची बुझाउने एक साताअघि सोमबार ओलीले आफ्नो पार्टी सरकारमा गएपछि गर्ने कामको तालिका बनाइरहेको बताएका छन् ।
आफ्नो आधिकारिक फेसबुक पेजमार्फत एक भिडियो सन्देश सार्वजनिक गर्दै ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियानलाई सार्थक बनाउने कृषि क्षेत्रको विकासका लागि सुझाव मागेको बताएका छन् ।
साथै उनले अन्य विविध क्षेत्रको लागि पनि सुझाव माग्ने र सुझाव पाउने अपेक्षा गरेको बताएका ओलीले एमाले सरकारमा गएपछि गर्ने कामको मसिनोगरी कार्यतालिका बनाएर कार्यान्वयन गर्ने तयारी गरेको उल्लेख गरेका छन् । यसका लागि आवश्यक सुझाव र साथको अपेक्षा गरेको ओलीको भनाइ छ ।