काठमाडौँ – काठमाडौं महनगरपालिकाका तीनवटा क्यासिनोहरूले मनोरन्जन कर तिरेका छन्। काठमाडौं महानगरपालिकाले दिएको सात दिने अल्टिमेटम सकिनु भन्दा अगाडी नै तीन क्यासिनोले मनोरन्जन कर तिरेका हुन्।
बिहिबार सोल्टी होटल र मल्ल होटलको क्यासिनोले तथा बुधबार म्यारियट होटलले कर तिरेको महानगरका सहप्रवक्ता महेश काफ्लेले जनाएका छन्। सोल्टी होटल र मल्ल होटलको क्यासिनोले ३० लाख र म्यारियट होटलले १९ लाख रुपैयाँ कर तिरेका हुन्।
अब चार क्यासिनोले मनोरन्जन कर तिर्न बाँकी रहेको छ। महानगरले आइतबार एक पत्र काटेर काठमाडौँ महानगरपालिकामा रहेका विभिन्न सात क्यासिनोलाई एक साता भित्र मनोरन्जन कर तिर्न अल्टिमेटम दिएको थियो।
महानगरले अल्टिमेटम दिएका क्यासिनोहरुमा होटल म्यारियटको डेल्टीन, होटल अन्नपूर्णका क्यासिनो प्यालेस, हाटल र्याडिसनको क्यासिनो र्याड, होटल हायातको प्राइड इन्टरनेश्नल एण्ड रिक्रिएशन, हाटल सोल्टीको माजोङ्ग र मल्ल होटलको बेली क्यासिनो रहेका छन्।
आव २०७५/०७६ देखि हालसम्म कर नबुझाएकोले प्रदेश आर्थिक ऐनले तोकेको दररटेमा हालसम्मको बाँकी मनोरञ्जन करको विवरण र सोको नियमानुसार लाग्ने जरिवाना समेत सात दिन भित्र तिर्न महानगरको निर्देशन थियो।
