काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने हो भने राष्ट्रपति विद्यादेवी भण्डारीले राजीनामा दिनुपर्ने बताएका छन्। शुक्रबार पोखरा पुगेका प्रचण्डले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने हो भने राष्ट्रपति विद्यादेवी भण्डारीले राजीनामा दिनुपर्ने बताएका हुन्।
पोखरा विमानस्थलमा संचारकर्मी सँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले संसदको दुवै सदनबाट दोस्रो पटक पारित भई प्रमाणीकरणका लागि पुगेको नागरिकता विधेयक अब राष्ट्रपतिले पारित गर्ने विश्वास व्यक्त गरे। राष्ट्रपतिले दोस्रो पटक पनि नागरिकता विधेयक पारित नगर्ने हो भने दुई सम्भावना हुने प्रचण्डको भनाई छ।
राष्ट्रपतिले नागरिकता विधेयक रोके सो विषय अदालत जाने प्रचण्डले बताए। त्यस्तो अवस्थामा राष्ट्रपतिले राजीनामा दिनुपर्ने स्थिति आउन सक्ने प्रचण्डले दावी गरे।
“राष्ट्रपतिज्यूलाई दोस्रोपटक संविधानले कुनै ठाउँ नै दिएको छैन्, त्यसकारण उहाँले प्रमाणीकरण गर्नुहुन्छ जस्तो नै लाग्छ मलाई। हुन त मैले केहीदिन अघि मैले राष्ट्रपति जीसँग भेटेर कुरा गर्दा उहाँ चाँही यो विषयलाई पोलिटिकल विषय बनाउने मुडमा भएकै देखेको थिएँ मैले।”,प्रचण्डले भने।
राष्ट्रपतिसँगको भेटमा नागरिकता विधेयक प्रमाणीकरण नगर्ने हो भने राजीनामा दिनुपर्ने अवस्था आउने प्रचण्डको भनाई छ। उनले भने,”मैले उहाँलाई भनेको थिएँ- दोस्रोपटक पनि प्रमाणीकरण गर्नु भएन भने या त राजीनामा दिनुपर्ने स्थिति आउँछ। या यो विषय अदालतमा जान्छ। तर उहाँले प्रमाणीकरण गर्नुहुन्छ होला।”