काठमाडौं । ‘माफी मागिसक्यो, ९ दिन पुलिस कस्टडीमा बसिसक्यो अब कानुनी तरिका अपनाएर छोड्नुप-यो’ योगेश्वर अमात्यले सामाजिक सञ्जाल फेसबुकमा लेखेको स्ट्याटस नेवार समुदायको पहिचानका लागि स्वागतयोग्य छ । ‘स्ट्यान्ड अप कमेडियन’ अपूर्व क्षितिज सिंहले नेवार समुदायको चित्त दुखाएको कुरामा विवाद छैन ।
नेवारको सभ्यता, संस्कार र परम्परा एवं चालचलनमाथि उपहास गर्नु ठीक थिएन । तर, उनले माफी मागेका छन्, १० दिनदेखि थुनामा पनि बसिरहेका छन्, तर हामी भगवान गौतम बुद्धका अनुयायी उनलाई माफी दिन सकिरहेका छैनौं । बुद्धका अनुयायीको संस्कार अपनाउँदै उनलाई माफी दिएर घर पठाउन ढिला गरियो भने नेवारको सही संस्कार प्रकट हुने छैन । यो समाचार नेपाल समाचारपत्रमा प्रकाशित छ।
भगवान बुद्धले ‘अंगुलीमाल’लाई क्षमा गरेजस्तै क्षमा दिन आम व्यक्तिलाई सहज छैन । तर, योगेश्वर अमात्यले अघि भन्नुभएजस्तै, ‘हाम्रो नेवा संगठन गज्जबकै लाग्छ, चहिने मुद्दामा ध्यान छैन, सानोतिनोमा अल्झेर के नै गरेजस्तो ।’बहुजाति, बहुधार्मिक नेपालमा कसैले कसैको मानमर्दन हुने गरी हाँसो गर्नु कुबुद्धि हो भने कसैले गरिहाले त्यसलाई प्रतिशोधका रूपमा लिनु अर्को घातक कदम हुन्छ । किनभने तराई समुदायमा पनि नेवारहरूले कलाकारिता वा राजनीति अथवा सामाजिक गतिविधि गर्न पाउनुपर्छ । एक–आपसको प्रतिशोध कसैका लागि पनि हितमा छैन ।
त्यसो त विश्वमा स्ट्यान्ड अप कमेडी गर्दा कुनै न कुनै समुदायको व्यवहारमाथि व्यंग्य गरेको नपाइने होइन । तर, नेपालमा रहेको जातिगत सद्भावको पक्ष बढी संवेदनशील छ भनेर सबैले बिर्सनुहुन्न । तर, सामाजिक सञ्जालमा एकथरीले सरस्वती प्रधान र रूपा सुनारको मुद्दामा सरस्वती प्रधानलाई अझै मुद्दा मामिलामा दुःख दिइरहेकाले अपूर्वलाई छोड्नहुन्न भनेर तर्क गरेको देखिन्छ । पूर्वाग्रह राखेर काम गर्नुहुन्न, कसैलाई पनि अन्यायमा पार्नुहुन्न ।
यस्ता विषय तत्कालै राजनीतीकरण गरिन्छन् । आगामी मंसिर ४ को निर्वाचनमा होमिनका लागि केही अभियान्ताले अपूर्वलाई लिएर राजनीति गरे भन्ने कुरा पनि बाहिर आएको छ । जातिगतबाट राजनीतिगत हुँदै घटना साम्प्रदायिक भयो भने त्यो मुलुकका लागि हितकर हुनेछैन ।
काठमाडौं उपत्यकामा इन्द्रजात्रा चलिरहेको छ । अपूर्वले नेवारहरू संस्कृति र सभ्यतामा कति समृद्ध रहेछन् हेरून् । लाखे, पुलुकिसी, सवा भकु, दश अवतार, कुमारी आदि देखाऊँ । आगामी प्रहसन नेवार संस्कृतिको समृद्धिमा बनाऊ भनेर अभिप्रेरित गरौं । यसका लागि उनलाई रिहा गरिहाल्नु भने आवश्यक भएको छ ।
हास्य कलाकार अपूर्व क्षितिज सिंहलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिइएको छ । नेवाः समुदायको भावनामा ठेस पु-याउने गरी प्रस्तुति दिएको आरोपमा पक्राउ परेका सिंहलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौंलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिएको हो ।
यही भदौ १२ मा पक्राउ परेका उनीमाथि गरिएको अनुसन्धानको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा बुझाउने तयारी प्रहरीले गरिसकेको छ ।नेवा समुदायको आस्थामाथि चोट पु-याउने गरी व्यंग्य गरेको भन्दै उनीविरूद्ध प्रहरीमा उजुरी परेपछि उहाँ पक्राउमा पर्नुभएको हो ।
यसैबीच, संघीय प्रतिनिधिसभाको प्रमुख प्रतिपक्ष एमालेले अपूर्वलाई यथाशीघ्र रिहा गर्न माग गरेको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले कला प्रस्तुत गर्ने क्रममा १० दिनदेखि प्रहरी हिरासतमा रहेका कलाकार सिंहलाई माफी मागेपछि पनि नछोड्नु मानवोचित व्यवहार होइन भन्नुभयो ।