विभिन्न १२ जिल्लाका सिडिओ सरुवा ! को-कहाँ पुगे ?

काठमाडौं । गृह मन्त्रालयले काठमाडौं, ललितपुर सहित १२ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी(सिडिओ) हरुको सरुवा गरेको छ । यो समाचार राजधानी दैनिकमा प्रकाशित छ।

मन्त्रालयका अनुसार काठमाडौँको प्रमुख जिल्ला अधिकारीमा ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायलाई सरुवा गरिएको छ । काठमाडौँका प्रजिअ गोविन्द रिजालको गृह मन्त्रालयको कर्मचारी प्रशासन महाशाखा प्रमुखमा सरुवा भएको छ । काठमाडौमा आएका उपाध्याय सुधारक प्रमुख जिल्ला अधिकारीको रुपमा चिनिन्छन् । काठमाडौबाट गृह मन्त्रालयमा सरुवा गरिएका रिजालले पनि विभिन्न सुधारका कार्य गरेका थिए ।

यस्तै ललितपुरमा कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यलाई ल्याइएको छ । आचार्य पनि सुधारक प्रशासकको रुपमा चिनिन्छन् ।

यसै गरी कास्कीमा गृह मन्त्रालयका प्रशासन महाशाखा प्रमुख टेकबहादुर केसीलाई पठाइएको छ भने जुम्लाकी प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाईँलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ । यस्तै जुम्लाको प्रजिअमा मुकेशकुमार केसरी लाई पठाइएको छ ।

मन्त्रालय का अनुसार दैलेखको प्रजिअमा सञ्चार तथा सुचना विभागका महानिर्देशक गोगनबहादुर हमाललाई पठाइएको छ भने दैलेखका हरि प्याकुरेललाई बाँकेको सहायक प्रमुख जिल्ला अधिकारीमा पठाइएको छ ।

यसैगरि बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र बहादुर केसीलाई इलाका प्रशासन कार्यालय सिमरा सरुवा गरिएको छ भने पाँचथरका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेलाई मन्त्रालय र पाँचथर को प्रजिअमा गणेश गैरेलाई पठाइएको छ ।

यसै गरी सङ्खुवासभाका प्रजिअ नुरहरी खतिवडालाई सप्तरीको प्रजिअमा, सप्तरीका प्रजिअ जनार्दन गौतमलाई उदयपुरको प्रजिअ र उदयपुरका वीरेन्द्र यादवलाई सङ्खुवासभाको प्रजिअमा सरुवा गरिएको गृह मन्त्रालयले जनाएको छ ।

प्रकाशित : बिहिबार, भदौ २३, २०७९०६:५२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सन्दीपविरुद्धको प्रमाण संकलन गर्दै प्रहरी, आरोप पुष्टि भए १० देखि १२ वर्ष कैद !