काठमाडौं । मन्त्रीमाथि अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका गरुड सेक्यूरिटीजका शेरजंग गुरुङ छुटे । उनलाई आइतबार मात्रै अभद्र व्यवहार मा मुद्दा चलाईएको थियो । व्यापक जनदबाबपछि उनलाई हिरासतमुक्त गर्न सरकार बाध्य भयो । यो समाचार सौर्य दैनिकमा प्रकाशित छ।
पर्यटनमन्त्री जीवनराम श्रेष्ठलाई कथित ‘दुव्र्यवहार’ गरेको आरोपमा गुरुङ पक्राउ परेका थिए । मन्त्री भएर अरुलाई अनुशासन सिकाउनुपर्ने तर, अनुसशान सिकाएकै भरमा गुरुङलाई दुःख दिने नियतले पक्राउ गरिएको थियो । तर, गुरुङमाथिको आरोप पुष्टि हुने कुनै आधार र प्रमाण थिएन ।
पर्यटन मन्त्रीकै जिम्मेवारी सम्हालेका यसअघिका मन्त्री प्रेम आले विवादमा आए । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई अल्लील गाली गरेका आले विवादमा आएका थिए । कर्मचारी भर्तिका लागि दबाब दिएका आलेको निर्देशन नमानेकै भरमा अधिकारीलाई उनले बारम्बार अश्लील शब्द प्रयोग गरेका थिए । आलेले प्रवासी नेपालीलाई समेत ज्यान मार्ने धम्कीसहितको कल रेकर्ड सार्वजनिक भएको थियो । यी दुवै प्रकरणमा आलेमाथि कुनै छानविन भएन ।
बोलीकै कारण कानूनमन्त्री शेरबहादुर तामाङले पदबाट राजीनामा दिनुपर्यो । एक कार्यक्रममा बंगालदेशमा चिकित्सा शिक्षा अध्ययन गर्न जाने छात्रामाथि टिप्पणी गरेका तामाङले किशोरीको अस्मितामाथि चोट पुग्ने गरि अभिव्यक्ति दिएका थिए । तत्कालीन समयमा पार्टीको निर्देशनमा राजिनामा नै दिए ।
यसअघि ०७२ असार १५ मा कृषीमन्त्री हरि पराजुलीले धान रोपाईमा एक महिलामाथि अस्भाविक व्यवहार देखाउँदा आलोचित हुनुपर्यो । कृषीमा जानकार पराजुली मन्त्री भएपछि कृषी क्षेत्रमा सुधार आउने अपेक्षा गरिएको थियो । तर, सर्वत्र आलोचित बनेपछि मन्त्री पराजुलीले पदबाट राजिनामा दिए । उनले सार्वजनिक कार्यक्रममा सुर्ति माडेर खाएको तस्वीर समेत भाईरल भएको थियो ।
त्यसो त गृहमन्त्री हुँदा बामदेव गौतमले रत्नपार्कमा डोरी नाघेर बाटो काटेको तस्वीर समेत भाईरल बन्यो । सर्वसाधरणलाई ट्राफिक नियम सिकाउनुपर्ने विभागीय मन्त्रीले नियमको धज्जी उडाएका गौतम उपहासका पात्र मात्रै बने ।
पटकपटक प्रधानमन्त्री भईसकेका एमाले अध्यक्ष केपी शर्मा ओली नै बोलीका कारण विवादमा आईरहने गर्छन् । मञ्चमा ओलीले टुक्काबाजी गरेपछि कार्यकर्ता मज्जाले ताली पिट्छन् । ओलीकै दलका नेता एवं पूर्व सञ्चारकर्मी समेत रहेका गोकुल बाँस्कोटा पनि बेलाबखत बोलीकै कारण विवादमा आउँछन् । प्रिन्टिङ प्रेस खरिदमा ७० करोड कमिसन मागेकोे आरोपमा अडियो नै सार्वजनिक हुँदा उनले केही कारबाही भोग्नुपरेन । बरु खुलेयाम ‘७० करोड होइन अर्ब हान्देको हो’ भन्दै अभिव्यक्ति दिंदै आए । पार्टी भित्र दबाब थेग्न नसकेपछि उनले अन्त्यमा राजीनामा दिए । अझै पनि बाँस्कोटा ओलीकै पथमा छन् ।
मन्त्रीहरुका यी र यस्ता गतिविधिलाई नियन्त्रण गर्ने काम प्रधानमन्त्रीको भएपनि गठबन्धन सरकारका कारण प्रधानमन्त्री निरीह बन्न पुगेका छन् । वर्षौंसम्म राजनीति गरेका नेताहरुको बोल्ने र काम गर्ने शैलीमा परिवर्तन जरुरी रहेको प्राध्यापकहरुको बुझाई छ ।