काठमाडौँ – नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले आफ्ना पूर्वसहकर्मी एमाले नेता योगेश भट्टराईको अभाव महसुस हुने गरेको बताएकी छन्। भट्टराईको जन्मदिनको अवसरमा सामाजिक संजाल मार्फत शुभकामना दिनेक्रममा भट्टराईको अभाव महसुस हुने गरेको बताएकी हुन्।
कुनै महत्वपूर्ण निर्णय लिने बेला भट्टराईको अभाव महसुस हुने झाँक्रीको भनाई छ। झाँक्रीले सामाजिक संजालमा लेखेकी छन्,”‘Happy birthday to you Dai, Many many happy returns of a day ahead. आफैंले कुनै महत्त्वपूर्ण निर्णय लिने बेला अभाव महसुस हुने रहेछ दाइ।”
नेकपा एमाले दुई टुक्रा हुनु भन्दा अगाडी झाँक्री र भट्टराई धेरै नजिक थिए। झाँक्री भट्टराईलाई राजनीतिक अभिभावकको रुपमा लिने गरेकी छन्। २०५४ मा एमाले विभाजित भएर नेकपा (माले) बन्दा रामकुमारी योगशसँगै मालेमा सामेल भएकी थिइन्।
तत्कालिन नेकपा पार्टी गठन भएकाबेला पनि झाँक्री र भट्टराई एकै खेमामा थिए। त्यस्तै नेकपा एमाले भित्र अन्तरिक विवाद चल्दा पनि दुवै माधव नेपालको खेमामा थिए।
तर एमाले फुट्दा भने भट्टराई एमालेमै अड्किए भने झाँक्री विद्रोहलाई आत्मसाथ गर्दै नयाँ पार्टी गठन सामेल भइन्। अहिले दुवै आआफ्ना पार्टीमा सचिव पदमा छन्।