काठमाडौँ – स्थापनाको एक वर्ष पूरा भएपछि माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी (नेकपा एस)ले माओवादीसँग एकता गर्ने भएपछि पार्टीका नेता कार्यकर्ताहरू पार्टी छाड्न थालेका छन्। एमालेबाट छुट्टिएर एक वर्षअघि पार्टी गठन गरेका नेपालले नयाँ पार्टी बनाउनुपर्नेमा नेता कार्यकर्तालाई माओवादीमा मिलाउन लागेपछि एमालेमै फर्कन लागेका हुन्। यो समाचार नागरिक दैनिकमा प्रकाशित छ।
मंसिर ४ गते संघीय संसदको निर्वाचनमा देशव्यापी रूपमा उम्मेदवार उठाउनुपर्ने माग गरिरहेका नेता कार्यकर्ताहले गठबन्धन दलबाट कम सिट पाउने र धेरै सिटमा अन्य दललाई सघाउनुपर्ने अवस्था आएपछि एसभित्र असन्तुष्टि बढेको थियो। सोही क्रममा एमालेबाटै विद्रोह गरेर माधव नेपाललाई साथ दिएका नेताहरू पुनः एमालेमा फर्कन थालेका छन्।
सोमबार गुल्मी एसका जिल्ला अध्यक्ष, जिल्ला इन्चार्जलगायतका नेता एमालेमा फर्किएका छन्। उनीहरूले पनि पार्टीको संगठन विस्तार गर्नुको साटो अन्य पार्टीमा लगेर मिसाउन लागेको र संगठन विस्तारमा नलागी कसलाई हराउने कसलाई जिताउने भन्ने व्यक्तिगत स्वार्थमा लागेपछि पार्टी छोड्नु परेको बताए। गठबन्धन पार्टीहरूबीच सिट संख्यामा कुरा नमिलेकै अवस्थामा एस पार्टीका नेताहरू एमालेतिर फर्केका छन्।
माओवादीले नेकपा एसलाई गठबन्धनभित्र निकै कम सिट दिनुपर्ने भनिरहेका बेला पार्टीका नेता कार्यकर्ताहरू एमालेमा फर्केपछि गठबन्धनले एस पार्टीलाई भाग लगाउने सिटको संख्या अझ कम हुने अवस्था देखिएको छ। एस पार्टीकै अध्यक्ष नेपालले कांग्रेस र माओवादी मिलेर कमजोर आँकेको भन्दै गुनासो गरेका थिए। त्यसक्रममा नेपालले प्रतिनिधीसभातर्फ एस पार्टीले ४० सिट दाबी गरेका थिए।
तर एसलाई १७वा १८ सिट मात्रै दिनेगरी बाँडफाँटको प्रक्रिया अघि बढाउँदा नेपालले असन्तुष्टि प्रकट गरेका थिए। एसका नेताहरूले कम्तीमा २४ सिट पाउनु पर्ने माग गरिरहँदा उनीहरूको नेता कार्यकर्ताले पार्टी छाड्ने क्रम बढेको हो। कांग्रेसलाई ७० सिट दिनुपर्ने सार्वजनिक रूपमा नै अभिव्यक्ति दिएका माधव नेपालले गठबन्धन दलहरूलाई होच्याउने, हेप्ने गरेमा भने नेकपा एकीकृत समाजवादी आवश्यक परे एक्लै चुनावमा जान सक्ने बताइरहेका छन्।
पार्टी केन्द्रीय सचिवसमेत रहेकी र आगामी चुनाव गुल्मीबाटै लड्ने तयारी गरिरहेकी रामकुमारी झाँक्रीलाई गृह जिल्लामा धक्का लागेको छ। सोमबार नेकपा एमाले गुल्मी जिल्ला पार्टी कार्यालयमा आयोजित कार्यक्रममा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले उनीहरूलाई पार्टीमै फर्काएका थिए। यसरी एमालेमै फर्किनेमा एकीकृत समाजवादी गुल्मीका जिल्ला अध्यक्ष नरेश भण्डारी, जिल्ला इञ्चार्ज गणेश खनाल, लुम्बिनी प्रदेश कमिटी सदस्य हिमाल थापा, मुसिकोट नगर कमिटी अध्यक्ष मदन घिमिरेसहितका नेता कार्यकर्ता छन्। कार्यक्रममा नरेश भण्डारीले बिग्रेको घरलाई मर्मत गरेर अघि बढ्ने भन्दै भाषणसमेत गरेका थिए।