काठमाडौ । जतिजति निर्वाचन नजिकिदैं छ त्यति राजनीतिक दलहरू तयारीमा ब्यस्त छन् । नेकपा (एमाले)को रणनीति असफल बनाउन र त्यसका अध्यक्ष केपी शर्मा ओलीको ‘दम्भ’ लाई साइजमा ल्याउन आगामी निर्वाचनपछि सम्म गठबन्धन कायम राख्ने निर्णय गरेको सत्तारुढ गठबन्धनलाई तामेल मिलाउनै सकस परेको छ । देशभरीको प्रतक्ष्यतर्फको सिट बाँडफाँडका लागि कार्यदल बनाइए पनि सो कार्यदलले अहिलेसम्म ठोस प्रस्ताव अघि सार्न सकेको छैन । यो समाचार सौर्य दैनिकमा प्रकाशित छ।
सिट बाँडफाँट गर्न कार्यदल बनाएको एक महिना बित्यो । तर, दलीय अडानका कारण अझै टुंगो लाग्न सकेको छैन । दलहरूले निर्वाचन क्षेत्रभन्दा बढी दाबी गरेका छन् । गठबन्धनमा रहेको कांग्रेसले १०० सिट, माओवादीले ६० सिट, नेकपा (एस)ले ४० सिट तथा जसपाले ३२ सिट दाबी गरेको छ । यस्तै जनमोर्चाले २ सिट दाबी गर्दै आएका छन् । यस अगाडि कार्यदललाई भदौ पहिलो साताभित्र प्रतिवेदन बुझाउन समय दिइएको थियो ।कांग्रेसका नेता डा.शेखर कोइरालाले गठबन्धन गर्दा जितेको ठाउँमा कांग्रेसले छाड्न नहुने बताएका छन् । उनले सय सिटभन्दा कम गरेर कांग्रेसले गठबन्धन गर्न नसक्ने बताउँदै आएका छन् । कोइरालाले सयभन्दा कम सिटमा गठबन्धन भयो भने पार्टीभित्रै विद्रोह सुरु हुने अभिव्यक्ति दिँदै आएका छन् ।
पार्टी सभापतिसमेत रहेको शेरबहादुर देउवाले टिकट वितरणमा आफ्नो पक्षकालाइृ बाइपास गर्ने डर पनि छ कोइरालालाई । यसै गठबन्धन गर्ने भएकाले सिट संख्या कम हुने त्यसमा पनि देउवाले टिकट वितरणमा संस्थापन पक्षलाई नै प्राथमिकता दिने भएकाले कोइरालाले प्रतिपक्षी नेता ओलीसँग पनि निकटता बढाएका छन् । त्यस्तै परे पार्टीभित्र विद्रोह गरेर देशभर एमालेसँग तालमेल गरेर जाने विषयमा पनि सो समूहमा छलफल चलेको श्रोतले बताएको छ ।
शनिबारै माधव नेपालले पनि काँग्रेसलाई हैसियतभन्दा बढीको अहंकार नदेखाउन चेतावनी दिएका छन् । प्रचण्डले त पटक–पटक काँग्रेसले अहंकार देखाए उसलाई पनि देखाइदिने धम्की दिदै आएका छन् । शनिबार एक कार्यक्रममा एमाले नेता सुभास नेम्वाङले माधव नेपाललाई एकताको निम्ति आह्वान त्यसै नगरेको बताउने एमाले नेताहरू पनि रहेका छन् । पहिलो हुने निर्वाचित हुने (प्रतक्ष्य) तर्फको १६५ सिटको बाँडफाँड भए पनि निर्वाचन क्षेत्र मिलाउन झन सकस छ ।
उदाहरणका लागि शुक्रबार मात्र डोटी काँग्रेसले आफ्नो जिल्लामा गठबन्धन गरेर अन्य दललाई छाडिए विद्रोह गर्ने निर्णय नै गरेको छ । काँग्रेस क्षेत्रिय सभापति वीरबहादुर बलायर, नेकपा (एस)का नेता प्रेम आले र माओवादी नेता त्रिलोचन भट्टको गृह जिल्ला हो डोटी । एउटै निर्वाचन क्षेत्र भएको जिल्ला र तीनै वटा प्रमुख दलका हेभिवेट उम्मेदवार, कसलाई दिने कसलाई छोडाउने, छोडाउँदा कस्तो परिणाम आउने भन्ने अन्योल छ । यस्तै सकस र अफ्ठ्यारा अधिंकाँश जिल्ला र निर्वाचन क्षेत्रमा छन् । मधेस प्रदेशमा झन धेरै सकस छ ।
मधेसमा झन सकस
प्रतिनिधिसभा अन्तर्गत मधेश प्रदेशमा ३२ निर्वाचन क्षेत्र छ । यही क्षेत्रमा गठबन्धनका पाँच दलको भागवण्डा मिलाउन र क्षेत्र बाँडफाँट सबैभन्दा कठिन छ । ‘हाम्रो पार्टीलाई केन्द्रीय रुपमै बहमुत सिट दिने गठबन्धनले सहमति गर्ने सचूना पाएका छौँ,’ काँग्रेसका मधेश प्रदेश अध्यक्ष कृष्ण यादवले भने, ‘मधेश प्रदेशमा हामी बलियो छौँ, ६० प्रतिशत सिट पाउनुपर्ने अडान राखेका छौँ ।’
