काठमाडौँ – नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई एमालेमै फर्किन आग्रह गरेका छन्। शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा नेम्वाङले नेपाललाई एमालेमै फर्किन आग्रह गरेका हुन्।
शनिबार एमाले सम्पर्क समन्वय कमिटीले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता नेम्वाङले माधवकुमार नेतृत्वको नेकपा एसलाई जनताले अस्वीकार गरिसकेको दावी गरे।
“जनताले अदालतले उहाँहरूको अस्तित्वलाई अस्वीकार गर्यो। त्यसैले म विनम्रतापूर्वक र दृढतापूर्वक भन्छु, माधवजी नेकपा एमालेमा फर्केर आउनुस्। “,नेम्वाङले माधव नेपाललाई आग्रह गर्दै भने।
एमालेबाट २० प्रतिशत सिट लिएर पार्टी फुटाएका माधव नेपालले गठबन्धनको सहारा लिएर पनि स्थानीय चुनावमा ४ प्रतिशत मत पनि कटाउन नसकेको नेम्वाङले आरोप लगाए। माधव नेपालका पछिल्ला अभिव्यक्तिहरु गर्नेलाई भन्दा के गर्नेलाई लाज भनिएजस्तै रहेको नेम्वाङले बताए।
उनले भने,”एमालेबाट २० प्रतिशत सिट लिएर पार्टी फुटाएका माधव नेपालले गठबन्धनको सहारा लिएर पनि स्थानीय चुनावमा ४ प्रतिशत मत पनि कटाउन सकेन। उल्टै केही सिटमा मात्रै लडेकाले यति मत आएको, देशभरी ढ्वाङ थापेको भए २५ प्रतिशत मत आउँथ्यो रे ? के भन्ने ? कुनि के गर्नेलाई भन्दा के गर्नेलाई लाज भन्छ नि !”