काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू राष्ट्रपति नबन्ने स्पष्ट पारेका छन्। शुक्रबार सुर्खेत विमानस्थलमा संचारकर्मीहरुसँग कुराकानी गर्नेक्रममा प्रचण्डले आफू राष्ट्रपति नबन्ने स्पष्ट परेका हुन्।
संचारकर्मीहरुले तपाईं राष्ट्रपति बन्न लागेको हो? भन्दै गरेको प्रश्नको जवाफ दिँदै प्रचण्डले राष्ट्रपति बन्ने कुरा विल्कुल गलत रहेको बताए। चितवनको क्षेत्र नम्बर ३ बाट निर्वाचन लड्ने घोषणा पनि प्रचण्डले गरे।
“म राष्ट्रपति बन्ने कुरा विल्कुल गलत हो। म प्रष्ट भनिसकेको छु चितवनको क्षेत्र नम्बर ३ बाट निर्वाचन लड्ने छु।”,प्रचण्डले भने। त्यस्तै प्रचण्डले सिट बाँडफाँटको विषयमा सत्तारुढ गठबन्धनभित्र असहमति नरहेको पनि दावी गरे।
प्रचण्डका अनुसार आउने केहि दिन भित्रै सिट बाँडफाँटको विषयमा सहमति जुट्नेछ। सिट बाँडफाँटलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल केन्द्रीत रहेको प्रचण्डले बताए। उनले भने,”असहमति छैन। प्रभावकारी कसरी बनाउने भन्नेतिर नै छलफल केन्द्रीत छ।
प्रचण्डले गठबन्धनमा संघ र प्रदेशको निर्वाचन क्षेत्र तोकेरै सिट बाँडफाँट हुने बताए। उनले भन,”प्रदेश र क्षेत्रसहित एकैपटक टुंगो लगाउने एक खालको सहमति भएको छ।”