काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। साताको पहिलो दिन र दोस्रो दिन घटेर तेस्रो दिन बढी चौंथो दिन घटेको सुनको मूल्य नेपाली बजारमा आज पनि घटेको हो।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा छापावाला सुनको मूल्य तोलामा ९ सय रुपैंयाँले घटेको छ। आज छापावाला सुन ९३ हजार १ सय रुपैंयाँमा कारोबार भइरहेको छ।
त्यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा ९ सय रुपैंयाँले नै घटेको छ। नेपाली बजारमा आज तेजाबी सुन प्रतितोला ९२ हजार ६ सय रुपैंयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
सुन डेढ महिना भन्दा बढी समयकै सस्तो
बुधबार र बिहिबार घटेसँगै नेपाली बजारमा सुन एक महिना भन्दा बढी समयकै सस्तो भएको छ। महासंघको तथ्यांक अनुसार आज कायम भएको सुनको मूल्य साउन ५ गते अर्थात ४२ दिनकै सस्तो हो। त्यसदिन छापावाला सुन ९३ हजार र तेजाबी सुन ९२ हजार ५ सय रुपैंयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य
नेपाली बजारमा सुन सँग-सँगै चाँदीको मूल्य पनि घटेको छ। आज चाँदीको मूल्य तोलामा रु ३० ले घटेको छ। महासंघका अनुसार आज नेपाली बजारमा चाँदी १ हजार १ सय रुपैंयाँमा कारोबार भइरहेको छ।