‘स्वार्थ समूहको गठजोडमा महाअभियोग लगाइयो’

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफूमाथि लागेको महाअभियोग आरोपबारे ‘भावनात्मक’ जवाफ दिएका छन् ।

उनीमाथि संसद्को महाभियोग सिफारिस समितिले आज बिहीबार फेरि बयान लिँदै छ । समितिमा बुधबार उपस्थिति राणासँगको बयान नसकिएपछि बिहीबार बिहान ११ बजे फेरि बोलाइएको हो ।

सिंहदरबारस्थित कानुन, न्याय तथा मानवअधिकार समिति बैठक कक्षमा बुधबार ‘महाभियोग’बारे तपाईंको के छ धारणा ? भनेर उहाँसँग सोधपुछ ग-यौं,’ नेपाली कांग्रेस सचेतकसमेत रहेका महाभियोग सिफारिस समिति सदस्य मीन विश्वकर्माले भने, ‘उहाँले यो अभियोग किन लगाइयो ? किन छलफलमा आयो ? भन्ने जिज्ञासा राख्नुभएको छ ।’

राणाले ‘सीमाबाहिर प्रतिरक्षाका लागि केही कुरा राख्न खोजेको’समेत विश्वकर्माले उल्लेख गरे । ‘संविधानको व्यवस्थाले न्यायपालिकाभित्र भएका सबै गतिविधि र फैसलाको जिम्मेवारी प्रधानन्यायाधीशले लिनुपर्नेमा उहाँले अरूको टाउकोमा थुपार्न खोज्नु नै सीमा बाहिरको हो,’ उनले थपे ।

समिति सदस्य नेकपा एमाले सांसद कृष्णभक्त पोखरेलले ‘बुधबार चारवटा मात्र प्रश्न सकिएको’ बताए । राणालाई सोध्न ४३ प्रश्न तयार पारिएको छ । समिति बैठकमा राणाले ‘आफूमाथि महाअभियोग लाग्नुमा स्वार्थ समूहको गठजोड’ भएको बताएका छन् । बयान दिने क्रममा उनले ‘महाभियोग प्रस्ताव आउनुका पछाडि विभिन्न व्यक्तिको स्वार्थ जोडिएको’ टिप्पणी गरेका हुन् ।

‘तत्कालीन नेपाल बारएसोसिएसन अध्यक्ष चण्डेश्वर श्रेष्ठले न्यायाधीश माग्नुभएको थियो । महासचिव लीलामणि पौडेलले चेम्बरमै आएर मुख्य न्यायाधीश माग्नुभएको थियो,’ राणाले भने, ‘त्यस्तै, सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यको पनि मुद्दामा स्वार्थ थियो । तर, मैले मानिनँ । विधि र शासन पालना गर्छु भनें । त्यही भएर उहाँहरू मेराविरुद्ध लाग्नुभएको हो ।’

राणाले प्रतिप्रश्न गर्दै थपे, ‘२८ गते (प्रतिनिधिसभा पुनस्र्थापना भएको दिन) अगाडि मैले के गरें ? २८ गतेपछि मैले के गरें ? र, ममाथि प्रस्ताव (महाअभियोग) आयो ?’

उनले ‘आफूबाहेक प्रतिनिधिसभा पुनस्र्थापनाको फैसला गर्ने अरू न्यायाधीशलाई सरकारले पदक दिएको’ पनि स्मरण गरे । ‘गलत भए पाँचै जना गलत हुन्छ । नेतृत्व सबै कुरा होइन, दण्डित भए सबै दण्डित हुनुपर्दैन ?’ जबराले भने ।

सांसद यशोदा सुवेदी गुरुङले ‘फैसला विवादास्पद भएको र त्यसविषयमा चेक एन्ड ब्यालेन्स गर्ने अधिकार संसद्लाई भएको’ बताइन् । ‘तपाईंलाई चेक एन्ड ब्यालेन्स गर्न पाउने संसद्को अधिकार नै हो । यहाँ उठेका प्रश्नलाई कसरी लिइरहनुभएको छ ?’ उनले प्रश्न गरिन् । जवाफमा जबराले ‘आफू प्रश्नबाट नभाग्ने तर प्रश्नको धरातल खोतलेर यथार्थता बुझाउनु आफ्नो दायित्व भएको’ बताए ।

प्रकाशित : बिहिबार, भदौ १६, २०७९०६:५४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

जबराले उल्टै खोले फायर, खोले सबैको पोल !