काठमाडौँ – ‘उहाँले आफ्नै नक्सा मसँग माग्नु भयो,’ नयाँ बानेश्वरस्थित अल्फाबिटाको अनधिकृत संरचना भत्काएपछि मेयर बालेन्द्र साहले बिहीबार अपराह्न सामाजिक सन्जालमा लेखेका छन्, ‘मैले कार्यालय गएर नक्सा र डोजर लिएर गए। मैले के बिराएँ।’
महानगरका अनधिकृत संरचना भत्काउनेक्रममा बिहिबार मेयर बालेन्द्र साह नयाँ बानेश्वरस्थित अल्फाबिटा पुगे। पार्किङको लागि छुट्याएको ठाउँमा व्यापारिक प्रायोजनको संरचना बनाएको भन्दै साहले अल्फासबिटा समूहका सञ्चालक द्विराज शर्मासंग नक्सा देखाउन आग्रह गर्दै नभए संरचना हटाउन माग गरे। तर शर्माले भवन निर्माणको नक्सा आफूसँग नभएको बरु महानगरले ल्याउनुपर्ने बताएपछि मेयर साह र शर्मावीच चर्काचर्की समेत भयो।
‘तपाईको नक्सा मैले ल्याउनु पर्ने ?,’ भन्दै साह झर्किँए। अनि शर्माले पनि ‘किन डन जस्तै व्यहवार गरेको,’ भन्दै साहसँग रिसाए। त्यहाँबाट फर्केका मेयर साह कार्यलय आए नक्सा बोके र फेरि अल्फाबिटा पुगे। तर यसपटक उनले नक्सा मात्र हैन सँगै डोजर पनि लिएर गए। अल्फाबिटाका सञ्चालकले दाबी गरेजस्तो ती संरचना नक्सा पास गरेर बनाएको नपाइएपछि नक्सा र डोजर लिएर आएका मेयरले तत्कालै ती अवैध संरचना भत्काए।
संरचना भत्काएलगत्तै साहले अब उपरान्त यस्तो गर्न नपरोस् भन्दै सबैले आफैं बुझेर अवैधानिकरूपमा बनाइएका संरचना हटाइदिन सामाजिक सन्जालमार्फत अनुरोध गरे। ‘नक्सा जसरी पास भएको छ,’ उनले लेखेका छन्, ‘त्यही अनुसार बनाइ दिनु होला।’ सोमबारबाट सुरु भएको अवैध संरचना भत्काउने महानगरको अभियान बिहीबारसम्म आइपुग्दा निकै चर्चामा छ।
काठमाडौं महानगरपालिकाले ‘पार्किङका लागि बनाइएका संरचना पार्किङका लागि नै प्रयोग गर्न’ गरेको आग्रह अटेर गरेको भन्दै त्यस्ता संरचना भत्काउने अभियानलाई तीव्रता दिएको छ। अण्डरग्राउण्डमा रहेका पसल हटाउन र त्यो ठाउँमा पार्किङको व्यवस्था गर्न निकालिएको ३५ दिने सूचना कार्यान्वयन नभएपछि सोमबारबाट कारबाही सुरु गरेको महागनरले बिहीबार अभियानलाई थप तीव्रता दिएको छ। – नागरिक दैनिकबाट