काठमाडौँ उपत्यकामा डेङ्गुको प्रकोप बढ्दै !

Aedes aegypti; adult female mosquito taking a blood meal on human skin

काठमाडौँ, गत जेठ महिनादेखि फाट्टफुट्ट रूपमा देखिन थालेको डेङ्गुले पछिल्ला दिनमा प्रकोपको रूप लिन थालेको छ।

विगतका वर्षमा उपत्यकाबाहिर बढी गर्मी हुने जिल्लामा महामारीको रूप लिने गरेको डेङ्गुले यो पटक भने उपत्यकामै महामारीको रूप लिन सुरु गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार गत तीन महिनादेखि हालसम्म देशभर एक हजार ९२३ जना व्यक्तिमा डेङ्गु पुष्टि भइसकेको छ। उक्त सङ्ख्यामा सबैभन्दा बढी केस उपत्यकामा रहेको छ।

सबैभन्दा बढी ललितपुरमा

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा कीटजन्य रोग नियन्त्रण शाखाका डा. शशी कँडेलले दिनुभएको जानकारी अनुसार उपत्यकाको ललितपुरमा मात्रै ५२९ जना डेङ्गुका बिरामी रहेका छन्।

यो देशभरिकै सबैभन्दा बढी डेङ्गु पुष्टि हुने जिल्लामा गनिएको छ। काठमाडौँमा हालसम्म २१९ जनामा डेङ्गु पुष्टि भएको छ। सबैभन्दा बढी डेङ्गु फैलिएको १० जिल्लामा रुपन्देही ३०७, तेह्रथुम ६०, सिन्धुली ५७, धादिङ ७०, सङ्खुवासभा ४६, अर्घाखाँची ४२, पाल्पा ३८ र गुल्मी ३६ जना रहेका छन्। त्योबाहेक भक्तपुरमा पनि ३५ जनामा डेङ्गु फैलिसकेको छ। डा. कँडेलका अनुसार हालसम्म ६७ जिल्लाबाट डेङ्गुको केस रिपोर्ट भएको छ। उहाँले भन्नुभयो, “डेङ्गु भएका ९० प्रतिशतलाई लक्षण नहुन पनि सक्छ।”

हाल इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा रिपोर्ट भएका एक हजार ९२३ केसमध्ये अधिकांश अस्पतालमा भर्ना भएका डेङ्गु सङ्क्रमित व्यक्ति र डेङ्गु पुष्टि भइसकेपछि अस्पतालमा आएर ओपीडीमा परीक्षण गराएका व्यक्ति हुन्।

अझै बढ्न सक्छ

डा. कँडेलले रोगप्रतिरोधात्मक शक्ति भएका व्यक्तिलाई डेङ्गु भएर पनि लक्षण नदेखिने हुनाले डेङ्गुका बिरामी धेरै हुन सक्ने बताउनुभयो। अझै पनि डेङ्गु बढ्न सक्ने भन्दै उहाँले डेङ्गु फैलिएका जिल्लाका मानिसले डेङ्गुबारे जान्ने र सुरक्षित रहनुपर्ने जानकारी गराउनुभयो।

शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले उपत्यकामा समेत डेङ्गु रोग नियन्त्रणबाहिर जान लागेको बताउनुभयो। उहाँले कात्तिक महिनासम्म डेङ्गुका बिरामी बढ्दै जाने जानकारी दिनुभयो।

डेङ्गु रोग लामखुट्टेले सार्न सक्ने हुँदा लामखुट्टेका लार्भा हुर्कन सक्ने स्थान सधैँ सफा गर्न सुझाव दिनुभयो। घर वरिपरि झाडी नराख्ने, टाएर, पानीका बोतल, पानी जम्ने ठाउँ नराख्ने, सरसफाइमा विशेष ध्यान दिनुपर्ने, घर वरिपरि सधैँ सफा गरिरहनुपर्ने बताउनुभयो। डा. पुनले टेकु अस्पतालमा ज्वरो आएका बिरामी आउने गरेको भन्दै अधिकांशलाई डेङ्गु पुष्टि हुने गरेको बताउनुभयो। – गोरखापत्रबाट 

प्रकाशित : बुधबार, भदौ ०८, २०७९०८:५६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

नागरिकता विधेयक: राजीनामा नदिन राष्ट्रपतिलाई सुझाव, डटेर सामना गर्न आग्रह !