गठबन्धनसँग ‘सिंगल’ भिड्न एमाले तयार !

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले पाँच दलीय गठबन्धनविरुद्ध चुनावमा ‘सिंगल’ भिड्ने निष्कर्ष निकालेको छ । ‘एमालेबाहेक कोही पनि वामपन्थी नभएको’ टिप्पणी गर्दै ‘कोही कसैसँग गठबन्धन नहुने’समेत एमालले स्पष्ट पारेको छ । यो समाचार राजधानी दैनिकमा प्रकाशित छ।

अध्यक्ष केपी शर्मा ओलीले ‘निर्वाचन तयारीमा जुटनुपर्ने’मा जोड दिँदै एमाले केन्द्रीय कार्यालय ललितपुर च्यासलमा मंगलबार बसेको स्थायी कमिटी बैठकमा ओलीले ‘गठबन्धनसँग सिंगल भिड्ने’ बताएका हुन् ।

आगामी ४ मंसिरमा तय प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन पूर्वतयारीका लागि बसेको बैठकमा स्थायी कमिटी सदस्य घनश्याम भुसालले ‘वामपन्थी गठबन्धन गर्न गरेको प्रस्ताव अस्वीकार’ गर्दै ओलीले ‘एमालेबाहेक यहाँ अरू कुनै वामपन्थी पार्टी नभएको’ दाबीसमेत गरे ।

एमालेबाहेक अरू वामपन्थी पार्टी छैन : ओली

‘एमालेबाहेक यहाँ अरू कुनै वामपन्थी पार्टी छैन, छ भने उनीहरूले आफू वामपन्थी भएको पुष्टि गर्नुपर्छ,’ ओलीको भनाइ उद्धृत गर्दै एक स्थायी कमिटी सदस्यले भने, ‘हामी एक्लै प्रतिस्पर्धामा उत्रिने हो, उम्मेदवार’bout मापदण्ड तयार गरी त्यसअनुसार तयारीमा जुट्नुपर्छ ।’

एमाले उपमहासचिव एवं प्रवक्ता पृथ्वीसुब्बा गुरुङले वाम दलसँगको तालमेल सम्भावना सकिएको बताए ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)सहितका वामपन्थी दलसँग निर्वाचनमा वामगठबन्धन गरेर अघि बढ्नुपर्ने सुझाव आए पनि एमालेले त्यसलाई अस्वीकार गरेको छ ।

प्रवक्ता गुरुङले ‘चुनावी तालमेलका लागि एमालेको ढोका खुला नै रहेको’ बताउँदै थपे, ‘सुशासन समृद्धि अभियानमा लोकतन्त्र र संघीय लोकतान्त्रिक गणतन्त्रको एजेन्डा मिल्नेसँग तालमेल हुन्छ । तर, माओवादी र अन्य वाम दलसँगको तालमेल सम्भावना सकिएको छ ।’

‘कोहीसँग मिल्ने जाने वा कसैलाई भित्र्याउनेभन्दा पनि एक्लै चुनाव सामना गर्नुपर्ने चुनौती एमालेसामु रहेको गुरुङले बताए । बाँकी केन्द्रीय कमिटी बैठकबाट विभिन्न निर्णय हुने उनले जानकारी दिए ।

बैठकमा स्थायी कमिटीका सदस्य रघुजी पन्त, खगराज अधिकारीसहितका नेताले ‘निर्वाचनमा विचार मिल्ने शक्तिसँग तालमेलको विकल्पमा खुला रहनुपर्ने’ धारणा राखे । वामपन्थी पार्टीसँग तत्काल वामगठबन्धन गर्न सम्भव नभएको अवस्थामा ‘अब वामपन्थी पार्टीमा रहेका नेता–कार्यकर्तालाई एमालेमा आकर्षित गर्ने किसिमले अघि बढ्नुपर्ने’ उनीहरूको जोड छ ।

प्रकाशित : बुधबार, भदौ ०८, २०७९०८:१६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

गठबन्धनभित्रै एक्लियो कांग्रेस !