काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहले महानगरअन्तर्गतका शिक्षक तथा कर्मचारीलाई तत्काल दलीय आबद्धता त्याग्न निर्देशन दिएका छन् । मंगलबार राति मेयर शाहले एक विज्ञप्ति जारी गरी दलीय आबद्धतासँग सम्बन्धित कुनै पनि प्रकारको सदस्यता नदिन वा सदस्यता लिएको भए रद्द गर्न सम्बन्धित राजनीतिक दल, भातृ संस्था वा शुभेच्छुक संस्थालाई अपिल समेत गरेका छन् ।
राजनीतिक आबद्धता तत्काल त्याग नगरे त्यस्ता कर्मचारी तथा शिक्षकहरूलाई कानुनी कारबाही अगाडि बढाउने उनको चेतावनी छ । शाहले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा १४ को उपदफा (२) को खण्ड (ग) ले नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको संस्थाको बहालवाला प्राध्यापक, शिक्षक वा कर्मचारीलाई कुनै पनि राजनीतिक दलले सदस्यता दिन नहुने व्यवस्था गरेको उल्लेख गरेका छन् ।
यस्तै, उक्त कानुन कार्यान्वयन गर्नका लागि अजित भण्डारीविरुद्ध प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेत भएको मुद्दामा उच्च अदालत पाटनबाट गएको जेठ ४ गते परमादेशसमेत जारी भएको तथा काठमाडौं महानगरपालिकाको कुनै पनि कर्मचारीले राजनीतिक दल वा संगठनको सदस्यता लिन, राजनीतिक क्रियाकलापमा संलग्न हुन वा अन्य कुनै पनि राजनीतिक गतिविधिमा भाग लिन नपाइने व्यवस्था काठमाडौं महानगरपालिका कर्मचारी सेवा ऐन, २०७७ को दफा ४५ ले पनि गरेको मेयर शाहले स्मरण गराएका छन् ।
‘काठमाडौं महानगरपालिकाअन्तर्गतका शिक्षक तथा कर्मचारीलाई दलीय आबद्धतासँग सम्बन्धित कुनै पनि प्रकारको सदस्यता नदिन वा सदस्यता दिएको भए रद्ध गर्न सम्बन्धित राजनीतिक दल, भातृ संस्था वा सुभेच्छुक संस्थालाई हार्दिक अपिल गरिन्छ’, मेयर शाहले भनेका छन्, ‘राजनीतिक दल, भातृ संस्था वा सुभेच्छुक संस्थाको सदस्यको रूपमा राजनीतिक आबद्धता कायम राखेको भएमा काठमाडौं महानगरअन्तर्गतको शिक्षक तथा कर्मचारीले त्यस्तो आबद्धता तत्काल त्याग गरी कानुनको परिपालना गर्न यसै विज्ञप्तिमार्फत सूचित गरिन्छ। अन्यथा, सार्वजनिक रूपमा उजुरी आह्वान गरी वा अन्य उपायबमोजिम प्राप्त सूचनाको आधारमा कानुनी कारबाहीअगाडि बढाउने नीति अख्तियार गरिनेछ ।’