काठमाडौँ – धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको साधारण शेयरको बाँडफाँड बुधबार हुने भएको छ। साउन २४ गते देखि साउन २९ गतेसम्म सर्वसाधारणका लागि निष्काशन भएको आइपिओको बाँडफाँड बुधबार हुने भएको हो।
यस अगाडी कम्पनीको आइपिओको बाँडफाँड मंगलबार हुने भनिएको थियो। तर तयारी नपुगेपछि बिक्री प्रबन्धक सनराइज क्यापिटलले बुधबार बाँडफाँड गर्ने तयारी गरेको छ।
कम्पनीले ३ करोड ३१ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित मूल्यका दरले ३ लाख ३१ हजार कित्ता निष्काशनमा ल्याएको थियो। त्यसमध्ये ०.५ प्रतिशत अर्थात् पाँच हजार १५५ कित्ता शेयर कर्मचारीलाई र पाँच प्रतिशत अर्थात् १६ हजार ५५० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएको थियो।
कम्पनीले बाँकी रहने तीन लाख नौ हजार २९५ कित्ता शेयर खरिदका लागि सर्वसाधारणबाट आवेदन माग गरेको थियो। माग भएको आइपिओमा कुल १९ लाख ५२ हजार ४६० जनाले २ करोड १७ लाख २१ हजार ५७० कित्ताका लागि आवेदन परेको कम्पनीले जनाएको छ।
आइपिओ बाँडफाँड हुँदा ३० हजार ९२९ जनाले १० कित्ताका दरले शेयर पाउनेछन् भने बाँकी १९ लाख भन्दा बढीको हात खालि हुनेछ। धितोपत्रको सार्वजनिक निष्कासन गर्दा क्रेडिट रेटिङ गर्नुपर्ने व्यवस्थाअनुसार रेटिङ गर्दा केयर रेटिङ्स नेपालले कम्पनीलाई ‘केयरएनपी बीबी आइएस’ ग्रेडिङ प्रदान गरेको छ ।