काठमाडौं । नेकपा एकीकृत समाजवादीले नेकपा माओवादी केन्द्रसँग पार्टी एकताका लागि आवश्यक गृहकार्य सुरु गरेको संकेत दिएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यस विषयमा सार्वजनिक अभिव्यक्ति दिएको एक दिनपछि नै एकीकृत समाजवादीले पार्टी एकताका लागि ‘पार्टी एकता संयोजन समिति’बनाउने निर्णय गरेको छ । यो समाचार सौर्य दैनिकमा प्रकाशित छ।
यसअघि मंगलबार प्रचण्डले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीसँग एकताका लागि संयोजन समिति बनाउने तयारी भइरहेको जानकारी दिएका थिए । ‘हामी अरू पनि वामपन्थीहरूसँग एकता गर्छौं,’ सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले भनेका थिए, ‘माधवजीहरूसँग पार्टी एकता संयोजन समिति बनाउने तयारीमा छौँ ।’
एकीकृत समाजवादीको बुधबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले एकता संयोजन समिति बनाउने निर्णय गरेको हो । पार्टीका एक शीर्ष नेताले वामपन्थीहरूबीच एकताको पहल एकीकृत समाजवादी र माओवादी केन्द्रबाट सुरु हुने बताए ।
बैठकमा पार्टी एकताको विषयमा विभिन्न पक्षबाट छलफल भएको बताइएको छ । बैठकमा पार्टी एकता संयोजन समितिमा रहने पदाधिकारीहरूको विषयमा पनि छलफल भएको थियो । एकता संयोजन समितिमा दुबै पार्टीका शीर्ष तहका नेताहरू नै बस्ने सहमति पनि जुटेको छ ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि दुबै पार्टीबीच एकता गर्ने गरी गृहकार्य भइरहेको बताइएको छ । एकीकृत समाजवादीको बैठकले भदौ ९ गते देशभर विभिन्न कार्यक्रमसहित पार्टी स्थापना दिवस मनाउने निर्णय पनि गरेको छ ।
नेकपा एमालेबाट विभाजित भएपछि एकीकृत समाजवादीले भदौ ९ गते नयाँ पार्टी दर्ता गरेको थियो । भदौ पहिलो साताभित्र पार्टीले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवार तय गरिसक्ने निर्णय पनि बैठकले गरेको छ । बैठकले पार्टीको केन्द्रीय सदस्यको कार्य विभाजनमा पनि हेरफेर गरेको बताइएको छ ।